
खबरबाकस \ मकवानपुरमा सञ्चालित १७ वटा एम्बुलेन्समा जिपिएस ट्रयाकिङ जडान गरिएको छ । गत जेठ १९ गते जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बसेको बैठकले स्वास्थ्य कार्यालय मकवानपुरलाई जडान गर्न निर्देशन दिए पश्चात सोमबार जिपिएस ट्रयाकिङ जडान गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो ।
कोरोना महामारीको बेला एम्बुलेन्स चालकले समयमा सेवा दिन नसकेको र विभिन्न बहाना बनाई भ्याउदिन भन्ने जस्ता जवाफ दिन थालेको जनगुनासो पछि जिपिएस जडान गरिएको हो । एक लाख ५० हजारमा खरिद गरी १७ वटा जिपिएस प्रणाली प्रयोग गरिएको घिमिरेले बताउनुभयो । उनले मकवानपुरगढी, हेटौंडा उपमहानगर र मनहरी गाउँपालिकामा सञ्चालित एम्बुलेन्समा जडान गरिएको बताएका छन् ।
जिपिएसको कन्ट्रोल गर्न जिल्ला प्रहरी कार्यालयलाई दिइएको छ । एम्बुलेन्स कहाँ छ के गरिरहेको भन्ने पत्ता लगाउन यस प्रविधिको प्रयोग गरिएको घिमिरेले बताउनुभयो ।








