
खबरबाकस \ मकवानपुरको हेटौंडामा कोरोना भाइरसविरुद्वको खोप दुरुपयोग हुने क्रम रोकिएको छैन । एकपछि अर्को खोप दुरुपयोगको घटना बढीरहेको छ । प्रभावकारी अनुगमन र खोप दुरुपयोग गर्नेलाई कारबाही नहुदाँ मकवानपुरमा कोरोना भाइरसविरुद्वको खोपको दुरुपयोग हुने क्रम बढेको छ । पद र पहुँचको आधारमा सरकारले तोकेको उमेर समूह भन्दा बाहिरको वर्गलाई खोप लगाउने क्रम बढेको हो । हेटौंडा उपमहानगरपालिकाकी उपमेयरको चेम्बरमै पहुँचको आधारमा गोप्य रुपमा खोप लगाएको ३ दिन नबित्दै आइतबार मकवानपुरका अर्का एक नेताको घरमै खोप लगाइएको छ । आइतबार बिहान मकवानपुरका एक नेताको घरमा पहुँचको आधारमा खोप लगाउने कार्य भएको हो ।
नाम नबताउने सर्तमा ती नेताको घरमा खोप लगाएर आएका एक व्यक्तिले भने ‘ मलाई घरमा बोलाइयो , म गए, घरमा पुग्दा खोप लगाउने काम भइरहेको रहेछ एकछिन त दङ्ग परेँ । मलाई तिमी पनि लगाउ भन्ने कुरा आयो, सबैले लगाउँदा म पनि लगाइदिन्छु भन्ने लागेर खोप त लगाए, तर खोप पाउनु पर्नेले नपाइरहेको अवस्थामा पहुँचको आधारमा आफुले खोप लगाउन पाउँदा मन सन्तुष्ट भने छैन, उनले भने । ती नेताको घरमा विभिन्न दलको पहुँच भएको नेता तथा व्यवसायीहरु खोप लगाउन पुगेको उनको दाबी छ ।
यसअघि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको सञ्चालक समिती सदस्य उत्सव चौलागाईले अस्पतालमा अटो एम्बुलेन्सको लागि आएको खोप दुरुपयोग गरेका थिए । उनले अटो एम्बुलेन्स चालकको लागि आएको खोप सुटुक्क आफ्नो नीजि मेडिकलमा लगेर मकवानपुरका केहि पहुँचवाला नेताहरुलाई लगाइदिएका थिए । उनले खोप दुरुपयोग गरेको लामो समय भइसक्दा पनि यसको प्रभावकारी रुपमा अनुगमन र कारबाही नहुदाँ अरुले पनि खोप दुरुपयोग गर्ने क्रम बढिरहेको छ । यस्तै दुई दिन अघि मात्रै हेटौंडा उपमहानगरपालिकाकी उपमयेरले आफु निकट केहि जनप्रतिनीधि र आफ्ना आफन्तलाई उपमहानगरको आफ्नो चेम्बरमा सुटुक्क खोप लगाइदिएको थिइन् ।
उपमेयरले उपमहानगरको लेटरप्याडको दुरुपयोग गरी ५० डोज खोप आफुलाई दिनुभनी स्वास्थ्य कार्यालयलाई पत्र लेखेकी थिईन् । आइतबार बसेको डिसिसीएमसीको बैठकमा उपमहानगरको कार्यालय भीत्र लगाइएको गोप्य खोपको निकै आलोचना भयो । मेयर हरिबहादुर महतले बैठकमा गलत कार्य भएको स्विर्कार गर्दै उपमहानगरको लेटरप्याडमा सिफारिश गर्ने अधिकार आफ्नो मात्र रहेको तर्क गरे । समाचार आए पछि थाहा पाए नहुने कार्य भयो मेयर महतले भने । उपमेयरले आफन्त, नातेदार र नगरपालिकाका कर्मचारीका आफन्तलाई खोप लगाइएको अनुसन्धानमा आफुले पत्ता लगाएको बताए । गोप्य रुपमा लगाइएको खोप भने नगरपालिकाका लक्षित वर्गलाई भनी ल्याइएको खोप भने थिएन्
हेटौंडामा पटक पटक कोरोना भाइरसविरुद्वको खोप सरकारी मापदण्ड बाहिरकालाई पहुँचको आधारमा लगाउने कार्य हुदाँ पनि जिल्ला प्रशासन कार्यालय भने बेखर छ । आइतबार बसेको बेठकमा प्रजिअ भरत मणि पाण्डेले आफुलाई जानकारी नगराई स्वास्थ्य कार्यालयले आफु खुसी खोप व्यवस्थापन गरेकोमा आपत्ति जनाउदैं यसबाट सिर्जित अवस्थाले जिल्लाको बदनाम भएको तर्क राखे । उनले लक्षित वर्ग बाहेक लगाइएका गोप्य खोपहरुको विवरण तीन दिन भित्र पेश गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् ।
समाचारमा प्रयोग भएको तस्विर उपमेयरको चेम्बरमा खोप लगाउन आएका मानिसहरु हुन् ।








