मुख्य खबरसमाचारफिचर

वैद्यलाई अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न कांग्रेसको निर्देशन

संवाददाता

काठमाडौं \  नेपाली कांग्रेसले बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई विवादास्पद अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न निर्देशन दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार विज्ञप्ति जारी गर्दै अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिइएको जानकारी दिएका हुन् ।

बागमती प्रदेशमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँमार्फत शुक्रबार बेलुकी पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न सचेत समेत गराइएको शर्माले जानकारी दिए ।

कांग्रेसका अर्का एक नेताले वैद्यलाई प्रदेशसभामै आत्मालोचना गर्न भनिएको छ । आफ्ना धारणा राख्न वैद्यले सभामुखसँग समयसमेत मागिसकेको ती नेताको दाबी छ ।  ‘हामी कुनै पनि बहानामा उनको अभिव्यक्ति ढाकछोप गर्दैनौं । यही कुरा अरूले गर्दा गल्ती हो हाम्ले गर्दा महागल्ती हो । वैद्यले ‘महागल्ती’ गरेकाले माफी माग्दै आफ्ना अभिव्यक्ति फिर्ता लिनुपर्छ।’ कांग्रेस प्रवक्ता शर्माले भने ।