
खबरबाकस \ मंगलबार दिउँसो हेटौंडा - ४ बैंक रोड स्थित एक घरमा जुवाको खालबाट नगद सहित पक्राउ परेका ५ जना जुवाडे सहित थप १ जनालाई जवरजस्ती करणी सम्बन्धी मुद्दा दर्ता गरिएको छ।
पक्राउ परेका ५ र थप १जना गरी ६ जना उपर एक किशोरीले आफुलाई बन्धक बनाई जवरजस्ती करणी गरेको उजुरी दिएपछि उनिहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता जयश्वर रिमालले बताए ।
पिडित किशोरीले जुवाको खालबाट पक्राउ परेका र अर्का एकजनाले आफुलाई बन्धक बनाएर जवरजस्ती करणी गरेको उजुरी दिएपछि, उजुरीका आधारमा थप १ जनालाई बुधबार बिहान पक्राउ गरेको डिएसपी रिमालले बताएका छन् । पक्राउ परेकाहरुमाथि जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भइसकेको र अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलको कार्यालय लगिएको डिएसपी रिमालले जानकारी दिए ।








