मुख्य खबरसमाचारफिचर

हेल्प डेस्क टोली थाहानगरमा, माक्स र सेनिटाइजर वितरण

संवाददाता

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा विभिन्न संघसंस्थाहरुको सहकार्यमा गठित कोभिड हेल्प डेस्क मकवानपुरको टोली आइतबार थाहा नगरपालिका पुगेको छ । हेल्प डेस्कका संयोजक कृष्ण कटुवालको नेतृत्वमा, हेल्प डेस्कका सदस्यहरु सरोज खनाल र ज्ञानेन्द्र कार्की थाहानगर पुगेका हुन् ।

कोभिड १९ को चपेटामा थाहानगर पनि अत्यन्त प्रभावित रहेकोले सहयोग सामग्रीसहित टोली गएको हो । टोलीले अक्सिजन कन्सन्ट्रेटर एक थान, मेडिकल माक्स १००० थान र सेनिटाइजर १० लिटर थाहानगरका प्रमुख लवशेर विष्टलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा थाहानगरका उपप्रमुख खड्ग गोपाली, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्रीलगायतको उपस्थिति रहेको थियो । साथै टोलीले थाहानगरका पुराना व्यवसायी तथा कोभिड संक्रमित गंगाविष्णु ढकाललाई भेट गरी च्यावनप्रास र मास्क प्रदान गरेको थियो ।

त्यस्तै, हेल्प डेस्क टिमले हेटौंडा–९ को संक्रमितहरुको घरदैलो कार्यक्रम गरेको छ । घरदैलो कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख मिना लामा सहित डेस्कका सचिवालय संयोजक कृष्ण कुमार गुप्ता, सदस्य कुमार पौडेल, मउवासंघका सदस्य नरेन्द्र भण्डारी, सिनियर अहेब प्रविन पुडासैनी, अनमी दिव्या बस्नेत, हेटौंडा ९ नं. वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधि, प्रहरी हवल्दार टोप बहादुर कुमाललगायतको सहभागिता रहेको थियो । टोलीले कोभिडको कारण ज्यान गुमाएका तीन जनाको परिवारसंग भेटघाट गरी समवेदना प्रकट गरेको थियो ।

शनिबार राती र आइतबार गरी चार सिलिण्डर अक्सिजन हेल्प डेस्कबाट वितरण गरिएको छ । हेटौंडा–६, रंगशालाका एकजना, हेटौंडा–१४, नया“ बस्तीका एकजना र हेटौंडा–१०, कर्राका एकजना गरी तीन जना बिरामीहरुलाई चार सिलिण्डर अक्सिजन निःशुल्क वितरण गरिएको हो । हेल्प डेस्क मकवानपुरको अभियानलाई क्रिकेट संघ मकवानपुरले सहयोग गरेको छ । क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ र टिमले कोभिड हेल्प डेस्कको सचिवालयमा मउवा संघका उपाध्यक्ष गणेश भेटुवाललाई नगद तीसहजार रकम हस्तान्तरण गरेका थिए ।