
सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ ।
अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १ खर्ब ७१ अर्ब बजेट कार्यान्वयन भइरहेको छ । यो रकम पाठ्यक्रम वितरण वितरण, छात्रवृत्तिलगायतमा खर्च हुनेछ । एक विद्यालय, एक स्वास्थ्यकर्मीको व्यवस्था, सबै विद्यार्थीको स्वास्थ्य जाँच गर्ने नीति सरकारले लिएको छ ।
बजेटमा विश्वविद्यालयलाई दिने अनुदान अन्तर्गतको १८ अर्ब ३४ करोड समेत समावेश रहेको छ । शैक्षिक पूर्वाधारको काम समेत यसमा रहने छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको बजेट १ अर्ब ३५ करोड रुपैयाँले बढेको छ । सरकारले आगामी आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट कार्यान्वयन हुने कार्यक्रम तथा आयोजनाका लागि २७ अर्ब ४७ करोड रुपैयाँ विनियोजन गरेको हो । चालु आवमा पर्यटन मन्त्रालयका लागि सरकारले २६ अर्ब १२ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।
पर्यटन क्षेत्रअन्तर्गत आगामी वर्ष सरकारले ग्रेट हिमालयन ट्रेलको गुरुयोजना पूरा गर्ने बताएको छ । काठमाडौं आसपास हाइकिङ ट्रेल र पदयात्रा मार्ग बनाउने घोषणा बजेटले गरेको छ । पर्यटनमा विदेशी लगानी आकर्षित गर्ने नीति सरकारले लिने अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।








