
सरकारले आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री विष्णु पौडेलले न्यूनतम ५० प्रतिशत परिवारलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने सरकारले लक्ष्य लिएको बताएका हुन् ।
स्वास्थ्य बिमा बोर्डको क्षमता अभिवृद्धि गरिने र बिमा कार्यक्रमको दीगोपनका लागि वैकल्पिक वित्तीय स्रोतको व्यवस्था गरिने पौडेलको भनाइ छ । स्वास्थ्य बिमा कार्यक्रमका लागि ७ अर्ब ५० करोड विनियोजन गरिएको पौडेलको भनाइ छ । सबै प्रदेशमा आयुर्वेदिक अस्पताल र प्राकृतिक चिकित्सालय स्थापना गर्ने पनि पौडेलले बताए ।
स्वास्थ्यको बजेट १ खर्ब २२ अर्ब, खोपका लागि २६ अर्ब ७५ करोड
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट बढेको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ५० करोड बजेट विनियोजन गरिएको छ । गत वर्ष स्वास्थ्यको बजेट ९० अर्ब ६९ करोड रुपैयाँ थियो ।
अर्थमन्त्री पौडेलका अनुसार आगामी आबको बजेटमा कोरोना खोपका लागि २६ अर्ब ७५ करोड रकम बिनियोजन गरिएको छ भने कोभिड–१९ को उपचार र रोकथामका लागि ३७ अर्ब ५३ करोड छुटु्याएको छ ।
· औषधि खरिदका लागि ५ अर्ब ६० करोड
· राजधानीमा ३०० शय्या र प्रदेशमा ५०–५० शय्याको सरुवा रोग अस्पतालका लागि १ अर्ब ३० करोड
· स्थानीय तहमा आधारभूत अस्पतालका लागि ६ अर्ब १५ करोड
· स्वास्थ्य स्वयं सेविकाको यातायात खर्चमा शतप्रतिशत बृद्धि, १२ हजार पुग्यो








