
हेटौंडा \ कोभिड १९ को संक्रमण खेपिरहनु भएको छ ? होम आइसोलेसनमै रहदा कुनै कठिनाइ भएको छ या अस्पतालमा रह“दा पनि केही समस्या छ ? यदि यस्तो समस्यामा तपाई या तपाईको परिवार हुनुहुन्छ भने संक्रमितलाई उपचार सेवाका लागि मकवानपुरमा नागरिक समाजबाट सेवाको पहल भएको छ । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा कोभिड संक्रमितलाई घर र अस्पतालमा सेवाको पहल भएको हो । मकवानपुर जिल्लामा कृयाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा कोभिड हेल्प डेस्क मकवानपुर सञ्चालनमा आएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको सचिवालयमा स्वास्थ्यकर्मीसहितको टोली रहि संक्रमितलाई काउन्सिलिड्ड गरिने संघका अध्यक्ष कृष्ण कटुवालले बताए । स्वास्थ्यकर्मीले संक्रमितसंग कुराकानी गर्नेछन्, कुनै कठिनाइ भए तत्काल अस्पताल ल्याउन या संक्रमितको घरमै पुगेर उपचार र आवश्यक औषधिको व्यवस्था हुनेछ कटुवालले भने ।
हेटौंडा अस्पताल मात्र होइन अन्य अस्पतालमा उपचाररत बिरामीलाई पनि सहयोग हुनेछ,’ कोभिड हेल्प डेस्कका सचिवालय सदस्य तथा नारायणी संघ हेटौंडाका महासचिव सरोज खनालले बताए । अक्सिजनको अभाव, उपचारमा समस्या तथा औषधि अभाव नहोस् भनेर सक्रिय रहनेछौं, खनालले भने ।
मानवीय संवेदना, सहकार्य र सहअस्तित्वको भावनाबाट प्रेरित भई मकवानपुरका विभिन्न क्रियाशील संघसंस्थाहरुले कोभिड १९ न्यूनिकरण अभियान एकीकृतरुपमा सञ्चालन गर्ने उद्देश्यले कोभिड हेल्प डेस्क मकवानपुर स्थापना गरेका हुन् । मकवानपुर उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालय रहेको डेस्कको संयोजक संघका अध्यक्ष कृष्ण कटुवाल रहेका छन् ।
डेस्कको सदस्यहरुमा नारायणी संघ हेटौंडाका सरोजकुमार खनाल, नारायणी यातायात कम्पनीका गोकर्ण पराजुली, निर्माण व्यवसायी संघ मकवानपुरका श्यामसुन्दर ढकाल, मकवानपुर होटल एशोसिएसनका शंकरलाल श्रेष्ठ, उपभोक्ता हित संरक्षण मञ्चका बासु खतिवडा, उपभोक्ता मञ्चका कुमार पौडेल, लायन्स क्लवका शम्भु नकर्मी र टासिडोल्मा तुम्बाहाम्फे, नेपाल पत्रकार महासंघका मणिराज गौतम, रामकुमार एलन र अञ्जली थापा, मकवानपुर उद्योग वाणिज्य संघका माधव न्यौपाने र कृष्ण कुमार गुप्ता अग्रवाल सदस्य छन् । यस्तै, सामुदायिक÷प्रहरी सेवा केन्द्रका राम विष्ट, नेपाल औषधि व्यवसायी संघका नारायण श्रेष्ठ, कृष्ण प्रणामी समाजका बद्री चौलागाई, मारवाडी एशोसिएसनका पवन अग्रवाल, नारायणी पेट्रोलियम विक्रेता संघका उत्सव इटेनी र सार्वजनिक मकवानपुर यातायातका ज्ञानेन्द्र कार्की पनि सदस्य रहेका छन् ।
बिरामीलाई अस्पताल ल्याउन या अस्पतालबाट घर पठाउदा अक्सिजन सिलिण्डरको अभावमा कन्सन्ट्रेटर पनि प्रयोगमा ल्याउन सकिन्छ । ‘हामीसंघ दुईवटा कन्सन्ट्रेटर पनि उपलब्ध छ,’ संयोजक कृष्ण कटुवालले भने । कम्युनिटी पार्टनर्स इन्टरनेशनल तथा एन. आई. डि. यस. नेपाल, काठमाडौंले उक्त कन्सन्ट्रेटर सहयोगस्वरुप उपलब्ध गराएको छ ।
तपाईलाई अप्ठेरो भयो, बिरामीलाई च्याप्यो ? अक्सिजन सुविधासहितको एम्बुलेन्स डेस्कसंग छ । अस्पताल आउन वा अस्पतालबाट घर फर्किन पनि एम्बुलेन्स सेवा छ । स्वास्थ्यकर्मी, औषधि र एम्बुलेन्स सेवा उपलब्ध रहेको जनाइएको छ ।








