
खबरबाकस \ बागमती प्रदेश राजधानी हेटौंडामा रहेको एक मात्र सरकारी अस्पताल हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन अभाव भएकाले अक्सिजन प्लाण्ट व्यवसायी दीपक खनाल र हेटौंडा उपमहानगरपालिका मेयर हरि बहादुर महत बीचको आन्तरिक सहमतमा अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका अध्यक्ष राजेश प्रसाईले बताए । उक्त मेसिनको मुल्य अनुमानित ३५ देखि ३८ लाख सम्म पर्नेछ ।
हेटौंडा निवासी काठमाडौं बस्ने अक्सिजन प्लाण्ट व्यवसायी समेत रहेका खनालले मेयर महत बीचको सहमतमा तत्काल खरिद प्रक्रिया नगरि मेसिन उपलब्ध गराइएको अध्यक्ष प्रसाईले बताए । यता नगरपालिकामा खरिदको विषयमा अनविज्ञ रहेको छ । मेसिनको विषयमा थाहा नभएको र मेसिन नगरपालिकाले दिएको भनीएको सुचना गलत रहेको सुचना अधिकारी भानुभक्त थपलियाले बताए । ‘अक्सिजन अभाव भएको बेला नगरपालिकाले एक करोड ३० लाख दिने भनी बजेट प्रक्रिया अघि बढिसकेको छ तर आज अक्सिजन मेसिन खरिद गरी अस्पताललाई दिएको भनिएको भने होइन’ थपलियाले भने ।
उक्त मेसिनबाट अस्पतालमा दैनिक १५ सिलिन्डर अक्सिजन उत्पादन हुने कोभिड १९ ईन्चार्ज डाक्टर सागर काफ्लेले बताए । ‘२४ घण्टामा १५ थान ठुलो सिलिन्डर बराबरको अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ, परिक्षण पनि भैसक्यो आजै साझबाट उत्पादन हुन्छ’, डा.काफ्लेले बताए । मकवानपुरमा पछिल्लो समय अक्सिजन अभाव भए पछि कोभिड अस्पताल सञ्चालन गरेका दुई वटा निजी अस्पतालले उपचार गर्न नसक्ने भनी विज्ञप्ती जारी गरेको थिए ।








