
नेकपा (एमाले)ले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीले उम्मेदवार बनाएका रामबहादुर थापा 'बादल'लाई भोट नदिने बागमती प्रदेश सांसदलाई कारबाही गर्ने तयारी गरेको छ ।
राष्ट्रियसभाको उपनिर्वाचनमा थापालाई भोट हाल्न एमालेले ह्वीप लगाएको थियो । उक्त ह्वीप उल्लंघन गर्ने प्रदेश सांसदलाई कारबाही गर्ने एमालेले तयारी गरेको हो । त्यसका लागि प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय बोर्डको बैठक बाेलाउनुभएकाे छ ।
पौडेलले बोलाएको बोर्ड बैठक आज बिहान ११ बजे बस्ने भएको छ । सो बैठकले राष्ट्रियसभामा थापाविरुद्ध लागेका प्रदेश सांसदलाई स्पष्टीकरण सोध्ने तयारी रहेकाे छ । त्यससँगै उनीहरूमाथिको कारबाही अगाडि बढाइने जनाइएको छ ।
एमालेका प्रदेशसांसद समेतले पार्टीको ह्वीप उल्लंघन गरेपछि डा. खिमलाल देवकोटा राष्ट्रियसभामा विजयी भएका थिए । देवकोटा विजयी भएसँगै एमालेका प्रदेश सांसद राजेन्द्र पाण्डेलगायतले माला लगाएर बधाइ दिएका थिए । एमालेले पाण्डेसहित १३ जना प्रदेश सांसदलाई कारबारी गर्ने तयारी गरेको स्राेतले जनाएको छ ।








