
हेटौंडा \ बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा रिक्त एक पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ । प्रदेश राजधानी हेटौंडाको भुटनदेवी माविमा भएको मतदानमा ३३८ मत खसेको छ ।
प्रदेश सांसद १०९ जनामध्ये १०५ मत मात्रै खस्यो । स्थानीय तहका प्रमुख–उपप्रमुख गरी २ सय ३८ मत मध्ये २ सय ३२ मत खसेको प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । प्रदेश सभा सदस्य एक जना उपस्थित नभएका हुन भने विवेकशील साझा पार्टीका तीन जनाले नो भोट लाई मानी मतदान गरेनन् ।
त्यस्तै सिन्धुपाल्चोकका दुई जना, दोलखाका दुई जना, भक्तपुरका एक जना गरी ६ जना मतदाता उपस्थित भएका थिएनन् । मतदान अवधि सकिएकोले केहीबेरमा आवश्यक प्रक्रिया पूरा गरी मतगणना थाल्ने तयारी गरिएको छ । आजै नतिजा सार्वजनिक हुनेछ ।








