मुख्य खबरसमाचारफिचर

हेटौंडामा राष्ट्रिय सभा उपनिर्वाचन मतदान सुरु

संवाददाता

श्रीराम अर्जुन \ बागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदको उपनिर्वाचनको मतदान प्रक्रिया हेटौंडामा सुरु भएको छ । आज विहीबार हेटौंडा उपमहानगर वडा नम्बर ४ मा रहेको भुटनदेवी माध्यामिक विद्यालयमा मतदान सुरु भएको हो । विहान ९ बजेबाट सुरु भएको मतदानमा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल सहित प्रदेश सभाका सदस्य, गाउँ/नगरपालिकाका प्रमुख/उपप्रमुख लामबद्ध भई मतदानमा सहभागि जनाइरहेका छन् । मतदान केन्द्रमा उम्मेदवारहरु गृहमन्त्री राम बहादुर थापा (बादल), डा. खिमलाल देवकोटा र कृष्ण बहादुर तामाङको उपस्थिती रहेको छ ।

मतदान गर्न विद्यालयको पूर्वपट्टिको गेटलाई कोरोना पोजेटिभ मतदाताले प्रयोग गरिएको छ भने पश्चिमतिरको गेटलाई अन्य मतदातालाई प्रवेश गराइएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताउनुभयो । मतदान दिउँसो ३ बजे सम्म हुनेछ भने साँझ सम्ममा नतिजा प्रकाशन गरिने अधिकृत श्रेष्ठले बताउनुभयो । भोट खसाल्न तीनवटा बुथको व्यवस्था गरिएको छ । ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’ मा स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् । यस्तै कोरोनाभाइरस संक्रमण भएका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखका लागि ‘ग’ बुथको व्यवस्था गरिएको छ ।

बागमती प्रदेशसभा सदस्य ११० जना मध्ये एक सदस्यको मृत्यु भएको छ भने प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २३८ जना मतदाता रहेका छन् । प्रदेश सभा सदस्यको एक मतको संख्या ४८ हुनेछ भने स्थानीयतहका प्रमुख/उपप्रमुखको एक मतको संख्या १८ गणना हुने निर्वाचन आयोगले जनाएको छ ।