मुख्य खबरसमाचारफिचर

एक क्विन्टल गाँजा सहित ३ जना नियन्त्रणमा

संवाददाता

हेटौंडा  \ मकवानपुर प्रहरीले एक क्विन्टल लागुऔषध गाँजा सहित तीन जनालाई नियन्त्रण लिएको छ ।  सोमबार विहान करिब पौने ६ बजे सुराकीको आधारमा मकवानपुर जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले गाँजा सहित मानिस नियन्त्रण लिइएको हो ।

भीमफेदी नामटारबाट हेटौंडा तर्फ आउदैँ गरेको ना २ ख ९८६३ नम्बरको ट्रकको क्याभिन भागको हुटमा फल्स बटम बनाई १७ वटा पोकामा एक क्विन्टल लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

गाँजा सहित ट्रक चालक काभ्रे जिल्ला महाभारत गाउँपालिका वडा नम्बर ५ बस्ने आइते बहादुर ठाडामगरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा गाँजा ओसारपसारमा संलग्न भीमफेदी गाउँपालिका वडा नम्बर ९का एक्ला भन्ने राजकुमार तामाङ र कैलाश गाउँपालिका वडा नम्बर १० बस्ने सुविन रुम्बालाइ पक्राउ गरिएको प्रवक्ता रिमालले बताउनुभयो ।