मुख्य खबरसमाचारफिचर

अनुगमन समितिको ४० थान अक्सिजन सिलिण्डर अस्पताललाई हस्तान्तरण

संवाददाता

 खबरबाकस \ नेपाली कांग्रेसले गठन गरेको कोभिड–१९ अनुगमन समिति मकवानपुरले कोरोना रोकथाम, नियन्त्रण र उपचारमा काम गर्दै आएको छ । मकवानपुरमा रहेको हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भए पश्चात आइतबार पूर्वी नवलपरासी पुगेर प्रशासन र प्रहरीको समन्वयमा ४० थान अक्सिजन भरिएको सिलिण्डर खरिद गरी व्यवस्था गरेको समितिका संयोजक उत्सव इटेनीले बताए ।

निषेधाज्ञाको समयमा व्यवसायी प्रमोदसिं रानाभाटले आइचर गाडी सहयोग गरी तरुण दल नगर अध्यक्ष सुनिल गिरी सहितको टोलीले ४० थान सिलिण्डर ल्याइएको इटेनीले बताए । सोमबार हेटौंडा अस्पतालका अध्यक्ष तथा प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईलाई उक्त ४० थान सिलिण्डर हस्तान्रण गरिएको थियो ।

हस्तान्तरण पश्चात अध्यक्ष प्रसाई धन्यवाद दिदैं अस्पतालमा भएको अक्सिजन अभावमा नेपाली कांग्रेस कोभिड १९ अनुगमन समितिको यो कामप्रति आभार प्रकट गरेका थिए । हस्तान्तरण कार्यक्रममा कांग्रेस नगर सभापति आनन्दराम पराजुली, वडा नम्बर ५ का निर्वाचित वडा अध्यक्ष राजेश बानियाँ, तरुण दल नगर अध्यक्ष सुनिल गिरी लगायतको उपस्थिती रहेको थियो ।

कोरोनाको काममा भईरहेका कमजोरीको बारेमा खबरदारी गर्ने र राज्यका विभिन्न निकायलाई सबै खाले सहयोग गर्ने काम समितिले गरिरहेको इटेनीको भनाई छ । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं जिल्ला सभापति इन्द्रबहादुर बानियाँको निर्देशनमा खटिएको समितिले अग्रपंक्तिमा खटिने पत्रकार र सुरक्षाकर्मीलाई मास्क, सेनेटाईजर, ग्लोभ्स जस्ता स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । हेटौंडा अस्पतालका सुरक्षाकर्मीहरुका लागि पुनःप्रयोग गर्न मिल्ने पिपिई सेट पनि प्रदान गरिसकेको छ ।