
काठमाडौं \ नेकपा माओवादी केन्द्रले आकस्मिक रुपमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा अपरान्ह ५ बजे बैठक बोलाइएको नेता हरिबोल गजुरेलले जानकारी दिए । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उनले बताए ।
नयाँ सरकार निर्माणका सन्दर्भमा छलफल गर्न नेपाली काँग्रेसको पदाधिकारी बैठक चलिरहेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवासमा साढे ४ बजेपछि बैठक सुरु भएको हो । बहुमतको सरकार गठनका लागि दाबी पेस गर्नुअघि देउवाले पार्टीका पूर्व र वर्तमान पदाधिकारीसँग छलफल थालेका हुन् ।
पदाधिकारी बैठकअघि देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए । यस्तै आज बिहान देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दिएको समय बिहीबार राति ९ बजे सकिँदैछ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसलगायतका दलसँग मिलेर नयाँ सरकार बनाउने तयारी गरिरहेको छ ।








