
खबरबाकस \ कोभिड संक्रमित विरामीलाई ओसारपसार गर्नका लागि हेटौंडामा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याईएको छ । विहीबार हेटौंडा उपमहानगरका १९ वटै वडामा सञ्चालन हुनेगरी प्रत्येक वडामा २ वटा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
मकवानपुरमा कोभिड संक्रमणको संख्या बढ्दै गएपछि संक्रमित आवातजावत गर्नका लागि एम्बुलेन्स अभाव भएका कारण अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालन गरिएको जनाइएको छ । ३८ वटा अटोलाई केहि स्वरुप परिवर्तन गरि अटो चालकलाई पिपिई सेट प्रयोग गराई अटो एम्बुलेन्स सञ्चालन गरिएको प्रजिअ पाण्डेले बताए । हेटौंडा उपमहानगरमा दैनिक वडा नम्बर ४ र ५ मा संक्रमितको संख्या अन्य वडाको भन्दा बढी रहेको पाइएको छ ।
जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को पदाधिकारीहरुको उपस्थितीमा चालकलाई पिपिई सेट प्रदान गर्दै अटो एम्बुलेन्स सुरुवात गरिएको थियो । हेटौंडा उपमहानगरको व्यवस्थापन र अटो व्यवसायीहरुको सहकार्यमा यो सेवा सुरुवात गरिएको जनाइएको छ ।








