
हेटौंडा \ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबार कोरोना भाइरसका ८ हजार ८ सय ८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १८ हजार सात सय ८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ७७ र पाँच सय सात जनाको एन्टिजेन परीक्षण गर्दा ७३ जना गरी ८ हजार ८ सय ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा आइतबार थपिएका संक्रमितसँगै नेपालमा कोरोनाका कुल संक्रमितको संख्या तीन लाख ९४ हजार ६६७ पुगेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबीस घण्टामा चार हजार २२ जना संक्रमित कोरोनामुक्त भएको जानकारी दिए ।
उनले हाल नेपालमा ८८ हजार १६० जनामा कोरोना भाइरसको संक्रमण सक्रिय रहेको बताए । पत्रकार सम्मेलनमा प्रवक्ता डा. गौतमले पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको र बाँकी विभिन्न स्थानमा थप गरी ८८ जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिए ।








