
हेटौंडा \ बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय भवनको शनिबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशका सचिव मदन भुजेलबाट भवन शिलान्यास गरिएको हो । बागमती प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोगमा बागमती प्रदेश प्रहरी कार्यालयको परिसरमा निर्माण गर्न लागिएको बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरिक्षक राजकुमार सिलवालले बताए ।

तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ कुल लागत ३२ करोड लागतमा भवन निर्माण हुने र चालु आर्थिक वर्षको लागि मन्त्रालयबाट ५ करोड निकाशा भएकोमा टेण्डर प्रकृया सबै सम्पन्न गरी काम सुरु गरिएको उनले बताएका छन् । निकट भविष्यमा नेपाल प्रहरी समायोजन भई प्रदेश प्रहरीको रुपमा रहने भएकोले हालको संरचना अपुग हुने र बागमती प्रदेश प्रहरीको प्रधान कार्यालयको रुपमा विकास गर्नुपर्ने भएको हुँदा भवनको निर्माण कार्य शुभारम्भ गरिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालय बागमती प्रदेशको सहयोगमा हालसम्म बागमती प्रदेश उपत्यका बाहेक अन्तर्गत ३४ वटा प्रहरी ईकाई निर्माण सम्पन्न भईसकेका, १२ वटा प्रहरी ईकाई निर्माणाधिन र चालु आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयको मुख्यालय समेत गरी थप २१ वटा प्रहरी ईकाइ निर्माणको लागि सम्झौता भई निर्माण कार्य प्रारम्भ भईसकेको छ । समग्रमा हालसम्म ६७ वटा प्रहरी ईकाईहरु निर्माणको लागि आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशबाट सहयोग भईसकेको छ ।









