
सिधाखबर \ कोरोना महामारीको बेला जिल्ला प्रशासन कार्यालयले अनुगमनलाई तिव्र दिएको छ । प्रत्येक दिन जसो विभिन्न व्यवसाय क्षेत्रहरुमा अनुगमन गरिरहेको छ । अनुगमनमा खाद्य वस्तु देखि मेडिकलहरुमा बढी चासोका साथ अनुगमन भइरहेको छ ।
अनुगमनको क्रममा विहीबार जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपानेको नेतृत्वमा खटिएको अनुगमन टोलीले हेटौँडा–६ गौरीटारको जनप्रिय स्वास्थ्य क्लिनिकमा शिल गरेको हो । अनुमति दर्ता बिना र मान्यताप्राप्त स्वास्थ्यकर्मी नराखी औषधि बेचविखन गरिसंचालन गरिरहेको औषधी पसललाई शिल सहित दश हजार जरीवाना गरिएको प्रशासकीय अधिकृत न्यौपानेले सिधाखबरलाई भने ।
हेटौंडा बजार देखि चौघडा, चुच्चेखोला, हटिया क्षेत्रमा १६ स्थानमा अनुगमन गरिएको उनले बताए ।औषधी तथा खाद्यान्न पसलमा अनुगमन गर्दा केहि व्यवसायीलाई आवश्यक निर्देशन समेत दिइएको उनले बताए । अनुगमनमा भेटिएको अखाद्य वस्तु सोही स्थानमा जफत गरी नष्ट गरिएको जनाइएको छ ।
अनुगमन टोलीमा जिल्ला प्रशासन, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधि, हेटौँडा उपमहानगरका प्रतिनिधि, जिल्ला प्रहरी लगायतको उपस्थिति रहेको थियो ।








