
हेटौंडा \ कोरोना भाइरसको संक्रमण बढेसंगै मकवानपुरमा आइतबार विहान राति १२ बजेबाट निषेधाज्ञा लागू गरिएको छ । जिल्लामा नयाँ भेरियन्टको कोभिड १९ संक्रमण तीव्र रुपमा फैलिएपछि लागू गरिएको निषेधाज्ञा बैशाख ३१ गते राति १२ बजेसम्म रहने छ ।
शनिबारको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र तथा मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाबायाँ ५ सय मिटर क्षेत्रमा निषेधाज्ञा लागू हुनेछ ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लामा कोरोना संक्रमणको दर तीव्र रुपमा बढेकोले नियन्त्रणका लागि निषेधाज्ञाको निर्णय गरिएको बताए । निषेधाज्ञाको पूर्ण पालनाको लागि आम जिल्लाबासीलाई प्रमुख जिल्ला अधिकारी पाण्डेले अनुरोध गरेका छन् । उनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।








