मुख्य खबरसमाचारफिचर

शनिबार देखी हेटौडामा मिनी लकडाउन

संवाददाता

खबरबाकस \  आज १८ गते शनिबार देखी हेटौडामा मिनि लकडाउन सुरु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको शुक्रबार बसेको बैठकले निर्णयहरु गरेको छ । बैठकले हेटौडास्थित सम्पूर्ण निजी अस्पतालहरूले आआफ्नो अस्पताल परिसरमा ज्वरो क्लिनिक सञ्चालन गर्ने र हेटौडा अस्पतालसँग समन्वय गरी आवश्यक पर्ने स्वास्थ्यकर्मीहरू आलोपालो उपलब्ध गराउने निर्णय भएको हो ।

साथै, आफ्नो अस्पतालमा निश्चित बेड कोभिड संक्रमितको उपचारका निम्ति छुट्याई संक्रमितका लागि सेवा प्रारम्भ गर्ने समेत निर्णय भएको छ । यस्तै मालपोत कार्यालय,शिखरकोट,मकवानपुर र नापी कार्यालय, शिखरकोट, मकवानपुरमा सेवाग्राहीहरूको अत्यधिक भिडभाडका कारण कोभिड १९ संक्रमण फैलिनसक्ने उच्च जोखिम देखिएको हुँदा सो कार्यालयहरूले आन्तरिक कार्य बाहेक अन्य सबै प्रकारका सेवाहरू शनिबार बन्द गर्ने निर्णय भएको छ ।

यता हेटौडा बजार क्षेत्रमा मानिसहरूको भिडभाडलाई नियन्त्रण एवं व्यवस्थापन गर्दै कोभिड १९ संक्रमणको जोखिमलाई न्यूनीकरण गर्न दिन तोकी आलोपालो गरी विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मात्र व्यसायहरू सञ्चालन गर्ने व्यवस्था मकवानपुर उद्योग वाणिज्य संघले मिलाउने गरी निर्णय भएको छ ।

यस्तै बैठकले होटल, लज, रेष्टुरेन्ट तथा चिया पसलहरूमा मानिसहरूको भिडभाड देखिएको र सोही स्थानबाट कोभिड १९ संक्रमण फैलिनसक्ने जोखिमलाई मध्यनजर गर्दै शनिबार देखि लागू हुने गरी हेटौडा उपमहानगरपालिका क्षेत्रमा रहेका सम्पूर्ण होटल,लज, रेष्टुरेन्ट, मिठाई पसल तथा चिया पसलहरू बन्द गर्ने निर्णय भएको छ। तर, टेकअवे र होमडेलिभरी विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म गर्न सकिने निर्णय गरीएको छ।

यस्तै बैठकले हेटौडा उपमहानगरपालिका वडा नं १० स्थित बसपार्कमा मानिसहरूको अत्यधिक भिडभाड देखिएको र सो वडामा संक्रमितहरूको संख्या समेत बढ्दै गएको हुँदा हेटौडा बसपार्क परिसरमा सञ्चालनमा रहेका सम्पूर्ण किराना पसल, चिया पसल लगायत अन्य सम्पूर्ण पसलहरू शनिबार देखि अर्को बन्द रहने व्यवस्था हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौडाले मिलाउने गरी निर्णय गरीएको छ ।
यस्तै बैठकबाट हेटौडा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूले उद्योगमा कार्यरत मजदुर तथा श्रमिकहरूलाई उद्योग परिसर भित्रै राखी बाहिर आवत जावतमा हुन नदिने गरी उद्योग सञ्चालन गर्ने व्यवस्था मिलाउने,हेटौडा उपमहानगरपालिका वडा नं ६ स्थित गौरिटार रंगशालामा हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, हेटौडाले हाल २० बेड क्षमताको अक्सिजन सहितको आईसोलेसन सेन्टर सञ्चालन गरिरहेको र पछिल्लो समय मकवानपुर जिल्लामा कोभिड १९ संक्रमितहरूको संख्या बढ्दै गइरहेको हुँदा सो आईसोलेसन सेन्टरको क्षमतालाई विस्तार गरी अक्सिजन सहितको २ सय बेडसम्म पुर्याउन आवश्यक पर्ने स्वास्थ्य सामग्री लगायत अन्य सामग्रीहरूको व्यवस्थाका लागि सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश, हेटौडालाई अनुरोध गर्ने लगाएतका निर्णय भएको छ ।