
सिधाखबर \ कोरोना भाइरसको बढ्दो संक्रमणले गर्दा मकवानपुरमा कडाई सुरु भएको छ । नेपाल सरकारले जिल्लामा गरेको परिपत्र अनुसार भीडभाड नगर्ने, माक्स अनिवार्य प्रयोग गरिनुपर्ने, शैक्षिक संस्था बन्द लगायत विभिन्न निर्णय भए सँगै हेटौंडामा झन कडाईका साथ आज आइतबारबाट सवारी साधनमा गते अनुसार जोरविजोर प्रणाली लागु भएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले बजारभित्र नीजि सवारी साधनमा जोरविजोर प्रणाली लागु गरेको छ । निजी सवारी साधन सबै ( कार, मोटरसाइकल) सँगै अटो, ईरिक्सा, मयुरी, म्याजिक र टेम्पोलाई समेत जोरविजोर प्रणाली लागु भएको प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले बताए ।
प्यार्टी प्यालेस, वैशाख मसान्त सम्म शैक्षिक संस्था, वनभोज खाने पार्कहरु, पर्यटकीय स्थहरु बन्द गरिनुका साथै सार्वजानिक स्थलमा माक्स नलगाई हिड्नेलाई संक्रमण रोग ऐन, २०२० बमोजिम कारवाहीको लागि प्रजिअ समक्ष सिफारिस गरिने जनाइएको छ । बैठकले सहायक प्रजिअ चिरन्जीवि शर्माको संयोजकत्वमा अनुगमन समिति गठन गरी अनुगमनलाई तिव्र पारिएको छ ।








