मुख्य खबरसमाचारफिचर

मउवासंघ निर्वाचनः कुर्सीका लागी जुध्ने कि कोभिड सँग जुध्ने

मणिराज गौतम

मकवानपुर उद्योग वाणिज्य संघको साधारण सभा र निर्वाचन कार्यक्रम सकसमा परेको छ । एक वर्ष देखी निर्वाचनको संघारमा रुमालिरहेको संघलाई कोभिड १९ ले यता न उता बनाएको हो । केही महिना अघि कोभिड १९ का संक्रमित कम हुदै आएको भन्दै सरकारले सबै क्षेत्र खुल्ला गर्दै आएपछि गत चैत्र २३ गते लाई मउवासंघले निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको थियो । तर ठिक त्यतिनै बेला कोरोना संक्रमणको दोश्रो लहर फैलिएको भन्दै सरकारले सभा सम्मेलन नगर्न परिपत्र जिल्लाभर जारी गर्यो । यही कारण देखाउदै कार्यसमितिको बैठकले साधारण सभा र निर्वाचन तालिका स्थगन गर्यो ।

तर निर्वाचनका उम्मेवार प्रत्यासीहरुको जोडबलका कारण तत्कालिन प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले निर्वाचन गराउनु भन्दै मउवासंघलाई पत्र पठाएको थियो । सोही पत्र अनुसार संघले आगामी वैशाख १५ गते साधारण सभा र १८ गते निर्वाचन तालिका घोषणा गरेको थियो । यसपछि मकवानपुरमा प्रमुख जिल्ला अधिकारी पनि फेरिए कोरोनाको त्रास पनि बढन् थाल्यो । अब घोषणा गरिए अनुसार १० दिनपछि मउवासंघको निर्वाचन तालिका छ तर सरकारले कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएको भन्दै बैशाख ७ गते देखी शिक्षण संस्था लगाएत सभा सम्मेलन नगर्न सुचना जारी गरेको अवस्था छ । यो अवस्थामा वर्तमान कार्य समिति चुनाव गर्ने या नगर्ने अन्यौलमा छ । वर्तमान कार्यसमितिले वैशाख १५ गतेलाई भर्चुवल माध्यमबाट साधारण सभा गर्ने निर्णय पनि गरीसकेको छ ।

साधारण सभा सकिएको ३ दिन भित्र निर्वाचन गरीनुपर्ने प्रावधान संघको विधानले तोकेको छ । यदि साधारण सभा गरेर निर्वाचन गराउन नसकेको खण्डमा मउवासंघको वर्तमान कार्यसमिति स्वतः तटस्थ हुनेछ । यसकारण संघको साधारण सभा र निर्वाचन कार्यक्रम एकै पटक गरीनुपर्ने टड्कारो आवश्यकता देखिन्छ । यस हिसाबले अहिले वर्तमान कार्यसमिति जसरी भएपनि निर्वाचन गर्ने अवस्थामा पुगेपनि राज्यको घोषित निर्देशनका कारण कानुनको कठघरामा अडकिएको छ । निर्वाचन गरौ सरकारले सभासम्मेलन नगर्नु नभनेको छ नगरौ चुनावी रौनकताले पेलिरहेको छ । यही सेरोफेरोको संकटमा छ यत्तिबेला मउवासंघ ।

मकवानपुरमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढ्दै गएको छ । छिमेकी मुलुक भारतसहित नेपालमा पनि कोरोनाको दोस्रो लहर सरु भएसँगै मकवानपुरमा पनि कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । मकवानपुरमा बिहिबार एकजना भारतीय नागरिकसहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५२ जनाको स्वावको नमुना परीक्षण गर्दा जिल्लाका विभिन्न स्थानका र बाहिरी जिल्लाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा आज सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।

कोरोना महामारीको यस्तो जोखिम बढीरहेका बेला मकवानपुर उद्योग वाणिज्य संघ भने प्रमुख जिल्ला अधिकारीको लिखित जवाफमा अड्केको छ । लगभग ३ हजार सदस्य रहेको संघ भित्र निर्वाचन गर्नु पर्ने र रोक्नुपर्ने भन्ने बिवाद चलिरहेको छ । एकापक्ष निर्वाचन हुनुपर्ने माग राखीरहेकाछन् भने अर्कापक्ष जोखिमका बेला साधारण सभा र निर्वाचन सारिनुपर्नेमा जोड दिईरहेकाछन् ।

यसै सन्र्दभमा मकवानपुर उद्योग वाणिज्य संघले बिहिबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेलाई जानकारी पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा गएको टोलीले आगामी १५ गते हुन लागेको साधारणसभा र निर्वाचन कार्यक्रमको बारेमा जानकारी गराएको हो । जानकारी पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले देशको विषम् परिस्थितीमा अवस्था हेरेर अगाडि बढ्न व्यवसायीहरुलाई आग्रह गरेका छन् । पछिल्लो समय कोरोना भाईरस संक्रमण दिनानुदिन बढिरहेको भन्दै सरकारले सभा सम्मेलन नगर्न आग्रह गरेको छ ।

यस्तो अवस्थामा निर्वाचन गराउन प्रशासनले अनुमति दिन नसक्ने भन्दै पाण्डेले व्यवसायीहरुलाई आगामी १३ गते सम्मको अवस्था हेरेर मौखिक जानकारी दिने आश्वासन दिएका छन् । संघले आगामी १५ गते भर्चुअल प्रणालीमार्फत साधारण सभा गर्ने निर्णय गरेपनी यसको ३ दिनभित्र निर्वाचन गर्नुपर्ने प्रावधान छ । तर अहिलेको अवस्थामा भर्चुअल माध्यमबाट साधारणसभा भएपनि निर्वाचन गराउनसक्ने अवस्था नरहेको भन्दै व्यवसायीहरु नै दोधारमा छन् । कार्यक्रममा अध्यक्षका उम्मेदवार कृष्ण अग्रवाल गुप्ता,राजकुमार न्यौपाने र महेन्द्र राउत लगायतको उपस्थिती रहेको थियो ।

अध्यक्षका उम्मेदवारहरुले कुनैपनि हालतमा निर्वाचन गराउने वातावरण बनाउन आग्रह गरेका छन् भने वर्तमान कार्यसमिति पनि निर्वाचन गराउने पक्षमा उभिएको छ । तर देशैभर देखिएको कोरोनाको जोखिम भने उम्मेदवार व्यवसायीहरुलाई कुनै प्रवाह देखिन्न । सामाजिक दुरीको नाममा कोरोना सँग जुध्ने आँट गर्ने व्यवसायी नेताहरुलाई कोरोनाले छुदैन भन्ने अहमता देखिन्छ । यदी यही अहमताका कारण ठुलो क्षति भएको खण्डमा जिम्मेवारी कसले लिन्छ ? पद र प्रतिष्ठाको लागि सानो गल्तीले भोलीका दिनमा आईपर्ने संकटको जिम्मेवारीको ग्यारेन्टी कसैले गर्न सकदैन ।

यसैले माला पहिरिएर मउवासंघको कुर्सी ताक्न खोज्नेहरुमा अलिकति पनि चेतना देखिएन । सामाजिक संजालहरुमा मउवासंघको साधारण सभा र निर्वाचनलाई लिएर उछितो काटिन लागिसकेको छ । सरकार भन्दा ठुलो मउवासंघ होईन भन्दै तत्कालको अवस्थालाई मध्येनजर गर्दै अगाडी बढ्न साधारण सदस्यहरुले समेत सुझाव दिईरहेका छन ।
यो अवस्थामा कुर्सीका लागि जुध्ने कि कोभिड सँग यो पनि व्यवसायी नेताहरुलाई प्रश्न छ । पहिला संकटबाट बचौं अनि मात्र पद प्रतिष्ठा हेरौला । होईन भने राज्यको निर्देशनलाई समेत च्यालेन्ज गरेर मउवासंघले निर्वाचन गराउने हो भने,यो जस्तो तल्लोस्तरको घृणित कार्य अरु केही हुन सक्दैन र जनताले कहिलै माफी पनि दिने छैनन् ।