मुख्य खबरसमाचारफिचर

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको निर्णयहरु : भिडभाड नगरौ,शैक्षिक संस्था भर्चुअल बिधिबाट संचालन गरौ

संवाददाता

मकवानपुर \ जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र मकवानपुरको मंगलबार बसेको बैठकले कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण सम्बन्धी महत्वपुर्ण निर्णयहरु गरेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको अध्यक्षतामा बसेको बैठकले गृह मन्त्रालय,शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाबाट आएका निर्णयहरूलाई जिल्लामा बैसाख ७ गतेदेखि लागू हुने गरी कार्यान्वयन गर्ने निर्णय भएको छ । निर्णय अनुसार हेटौडा उपमहानगरपालिकामा रहेका शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा सम्वत् २०७८ साल बैशाख मसान्तसम्म भौतिक रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने ।

हेटौडा उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहहरूले जोखिमको आँकलन गरी आफ्नो स्थानीय तह अन्तर्गतका विद्यालयहरूमा जनस्वास्थ्यका मापदण्डहरू अनिवार्य पालना गराई पठन पाठन गर्ने, गराउने । साथै,सम्बन्धित स्थानीय तहको पालिका स्तरीय शिक्षा समितिको निर्णय बमोजिम हुने गरी परीक्षा यथाशीघ्र सञ्चालनको व्यवस्था मिलाउने ।

यसमा शिक्षा विकास तथा समन्वय इकाई, मकवानपुरले सहजीकरण गर्ने । विद्यालय र कलेजका पूर्व निर्धारित परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी तोकिएको समयमा सञ्चालन गर्ने र सो को जानकारी शिक्षा विकास तथा समन्वय इकाई मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरलाई दिने समेत निर्णय भएको छ ।

साथै बैठकले जिल्लाभित्र रहेका सिनेमा हल,पार्टी प्यालेस,डान्स बार,दोहोरी,नाचघर,क्लब, हेल्थ क्लब, जिमखाना,स्पा,स्विमिंग पुल,फुटसल,सभा,आमसभा,जुलुस,हाटबजार,रङ्गशालामा हुने दर्शक सहितको खेलकूद र मानिसहरूको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सम्वत् २०७८ साल बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ ।

ब्युटिपार्लर र सैलुनहरूको हकमा पिपिई,मास्क र स्यानिटाइजरको प्रयोगलाई अनिवार्य बनाउने र एक पटकमा एक जनालाई मात्र सेवा प्रदान गर्ने गरी संचालन गर्न पाईने भएको छ । यस्तै जिल्लाभित्रका मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सम्वत् बैशाख मसान्त सम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने,गराउने ।

यसमा सम्बन्धित धार्मिक स्थलका सञ्चालकले आवश्यक व्यवस्थापन मिलाउने । एक पटकमा पच्चीस जना भन्दा बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक नछुने, दुई व्यक्तिको बीचमा दुई मिटर दूरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक–पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने एवं ज्वरो मापन गरी सपिङ मल, डिपार्ट मेण्टल स्टोर सञ्चालन गर्ने । जनस्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने,गराउने दायित्व सम्बन्धित व्यवस्थापक वा सञ्चालकको हुने ।यसमा मकवानपुर उद्योग वाणिज्य संघ र उद्योग संघ, मकवानपुरले सहजीकरण गर्ने बताईएको छ ।

मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारान, पास्नी,ब्रतबन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरू सञ्चालन गर्दा पच्चीस जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्ने । विवाह वा ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई पच्चीस जनामा नबढ्ने गरी गर्ने बताईएको छ ।

साथै बैठकले सभा, सम्मेलन, गोष्ठी, सेमिनार, समीक्षा, बैठक,तालिम, प्रशिक्षण जस्ता क्रियाकलापहरू सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने । भौतिकरूपमा उपस्थित भई गर्नै पर्ने भएमाप्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई बढीमा पच्चीस जना मात्र सहभागी रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय भएको छ ।सुरक्षा निकायको आन्तरिक तालिमको हकमा जनस्वास्थ्यका मापदण्ड पालना हुने व्यवस्था मिलाई सञ्चालन गर्न सकिने भएको छ ।

सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने,चालक तथा सहचालकले मास्क र भाइजर लगाउनुपर्ने,सवारी साधनलाई दैनिकरूपमा निसङ्क्रमित गर्नुपर्ने,सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने,मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने,लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीच बाटोमा थप यात्रु नचढाउने गरी शुरू गन्तव्यदेखि अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरूको विवरण जिल्ला ट्राफिक कार्यालय, मकवानपुर मार्फत जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र डिसिसिएमसि मकवानपुरलाई उपलब्ध गराउनु पर्ने छ ।

यस्तै बैठकले कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर वा साबुन पानीले हात धुने व्यवस्था र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउने । मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने । यसमा कार्यालयको हकमा सम्बन्धित कार्यालयका कार्यालय प्रमुख र व्यवसायको हकमा मकवानपुर उद्योग वाणिज्य संघले सहजीकरण गर्ने जस्ता निर्णय भएको छ ।

होटेल तथा रेष्टुरेन्टले विहान ८ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म संचालन गर्न पाईने । होटेल तथा रेष्टुरेन्टका कामदारले अनिवार्य रूपमा मास्क, भाइजर र पञ्जा लगाउनु पर्ने । होटेल तथा रेष्टुरेन्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्नु पर्ने । कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नुपर्ने,सेनिटाइजरको व्यवस्था गर्नुपर्ने,होटेल तथा रेष्टुरेन्टलाई नियमित रूपमा दैनिक निसङ्क्रमित गर्नुपर्ने,होटेल तथा रेष्टुरेन्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा दश रुपैयाँ लिई मास्क उपलब्ध गराउनुपर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेन्ट प्रवेश गर्न नदिन आब्हान गरेको छ ।

जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्गहरू तथा अन्य मार्गहरूमा सञ्चालित होटेल तथा रेष्टुरेन्टहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा दिने । सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणाली मार्फत सेवा प्रदान गर्ने व्यवस्था मिलाउने । जिल्ला भित्रका सबै बैङ्क तथा वित्तीय संस्थाहरूले सेवा तथा कार्यको लागि विद्युतीय भूक्तानी प्रणाली लागू गर्न प्रेरित गर्ने ।

सेवा शुल्क र महशुल अग्रीम वा एकमुष्ट रूपमा बुझाउन चाहनेलाई सो बमोजिम गर्न सक्ने गरी व्यवस्था मिलाउने । नियमितरूपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरू जनस्वास्थ्यका मापदण्डहरू पालना गरी नियमित सञ्चालन गर्ने जस्ता निर्णयहरू प्रभावकारीरूपमा कार्यान्वयन गर्ने,गराउने सम्बन्धमा आवश्यक सहयोग,सहजीकरण एवं समन्वय हुन जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, जनप्रतिनिधिज्यूहरू, निजी क्षेत्र, नागरिक समाज, गैर सरकारी संघ संस्था एवं सञ्चारकर्मीहरूलाई अनुरोध समेत गरीएको छ ।

बैठकमा हेटौडा उपमहानगरपालीका,जिल्ला समन्वय समिति,बैर्कस एसोसिसन,होटल एसोसिएसन,जिल्ला स्थित स्वाथ्य कार्यलयका प्रमुखहरु,पत्रकार महासंघ मकवानपुर,उधोग बाणिज्य संघ,उधोग संघ,यातयात ब्यबसायी कंम्पनीहरु,धार्मीक क्षेत्रका ब्यक्तीत्वहरु लगाएतको सहभागीता रहेको थियो ।