
हेटौँडा \ मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुर सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको स्वागत गरेको छ । संघका अध्यक्ष कृष्ण कटुवालले प्रजिअ पाण्डेलाई टिका र खादा लगाएर मकवानपुरमा स्वागत गरेका हुन् । अध्यक्ष कटुवालले मकवानपुरका उद्योग र उद्योगीका अवस्था, समस्या र चुनौतीको बारेमा जानकारी गराएका थिए ।
स्वागत पश्चात बोल्दै प्रजिअ पाण्डेले आफु मकवानपुर जिल्लामा यसअघि पनि आई आफ्नो कार्यभार सम्हालेको बताउदैं प्रजिअ भएपछि पहिलो पटक मकवानपुरमा आउँदा गर्नुभएको स्वागत सम्मानलाई धन्यवाद व्यक्त गरेका थिए । उनले पछिल्लो कोरोना भाइरसको विषयमा नेपाल सरकारले गरेको निर्णय अनुरुप सबै निजी तथा सरकारी क्षेत्रले नियम पालना गर्नुपर्ने बताए । संघको आसन्न निर्वाचनको विषयमा केहि बोल्दै यहाँहरु बुद्धिजिबि वर्गमा पर्नुहुन्छ आफैँलाई थाहा छ के गर्न हुन्छ के गर्न हुदैन सोही अनुरुप सरकारले निर्णय पालना गर्न अनुरोध गरे ।
सोमबार सरकारले सार्वजानिक यातायातमा, सरकारी कार्यालय जादाँ, बजारमा सामान खरिदबिक्री गर्दा अनिवार्य माक्स प्रयोग गरिनुपर्ने, भीडभाड नगर्ने जस्ता विभिन्न निर्णय गरेको बताउँदै प्रजिअ पाण्डेले मकवानपुरबासीलाई सजग रहन आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी, संघका पूर्व अध्यक्षद्धय उत्तमशर्मा ढकाल, भुवनलाल श्रेष्ठ, कानुनी सल्लाहकार ईश्वरराज ढकाल, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा पत्रकारहरुको उपस्थिती रहेको थियो ।








