
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले जेष्ठ पत्रकारलाई मासिक रुपमा पेन्सन वितरण गर्ने काम सुरु गरेको छ । महासंघले आज सोमबार पेन्सन वितरण शुभारम्भ कार्यक्रमको आयोजना गर्दै वितरणको काम सुरु गरेको हो । हेटौंडा उपमहानगरका मेयर हरि बहादुर महतको प्रमुखअतिथ्यता रहेको कार्यक्रममा महतले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन वापतको रकम वितरण गर्दै शुभारम्भको सुरुवात भएको घोषणा गरे । उनले यो पेन्सन कोषमा नगरपालिकाबाट अरु पनि रकम थप गरिने बताए ।
करिब ४० वर्ष सम्म पत्रकारिता गरेर निवृत जिवन बिताइरहेका भएका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन वापत वितरण गरिएको थियो । २० वर्ष सम्म पत्रकारितालाई मुख्य पेशा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन रकम दिन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरले सहयोग गरेको छ ।
महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति विकास गर्नका लागि पेन्सन दिन सुरु गरिएको हो । लगातार कम्तिमा वीस वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी विश्राम लिइसकेपछी प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन सुरु गरिएको अध्यक्ष हरि हुमागाईले बताए । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ठले नेपालमै पहिलोपटक मकवानपुर शाखाले राम्रो काम गरेको बताए । प्रदेश र केन्द्रले पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेपनि त्यो कार्यान्वयन गर्नका लागि समस्या रहेको बताए ।
जेष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछी कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम वृद्धि भएसंगै पेन्सन रकम पनि वृद्धि गर्ने तयारी छ । तर, कोषमा धेरै रकम जम्मा नहुने र पेन्सन लिने जेष्ठ पत्रकार वृद्धि हुदै गएमा पेन्सन वितरणको रकम पनि घटाउने गरी कार्यविधिपास गरिएको छ । राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले बताए ।
मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम बनाइएको अवस्थामा मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारहरुको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताए ।








