
श्रीराम अर्जुन \ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले गरेको खाद्य ऐन बमोजिम संकलन गरिएको नमुना अनुसार ८ वटा नमुनामा प्रतिकुल भेटिएकोले नियमानुसार ३ वटा मुद्दा दायर भएको, १ वटा प्रारम्भिक वयान लिई सम्बन्धित कार्यक्षेत्रमा पठाईएको र ४ वटा मुद्दा प्रक्रियामा रहेको पाइएको छ । आव २०७७/०७८मा कप दहि, चामल र दहि तीन नमुना परिक्षण गर्दा लेबल अपूर्ण र न्युन स्तर पाइएकोले मुद्दा दायर गरिएको हो ।
दुघ तथा दुग्ध पदार्थ, तेल तथा घ्युजन्य, फल तथा सागपात, मसला, चियाकफि,नुन, खाद्यान्न÷ दलहनजन्य, प्रशोधित पिउने पानी, गुलियो पदार्थ, कन्फेक्सनरी, मासु तथा मासुजन्य, दाना लगायतको ६६ वटा नमुना संकलन गरी परिक्षण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालले बताए । सोही अनुरुप ६६ नमुना मध्ये ८ वटामा प्रतिकुल देखिएपछि ३ नमुनामा मुद्दा, ४ नमुना मुद्दा प्रक्रियामा र १ वटा बयान लिएको रिजालले बताए ।
कार्यालयले मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायको प्रमुख आतिथ्यतामा दोस्रो चौमासिक सहित ८ महिनाको कामको प्रगति समिक्षा गरेको थियो । कार्यालयले राखेको लक्ष्य र गरिएको कामको प्रगति शतप्रतिशत पुराइएको प्रस्तुत कार्यपत्रमा उल्लेख गरिएको थियो । अनुगमन, खाद्य तथा दाना नमुना संकलन तथा विश्लेषण, सुचना सन्देश प्रचारप्रसार, खाद्य तथा दाना अनुज्ञापत्र सिफारिश, जारी तथा नविकरणका काम शतप्रतिशत गरिएको कार्यालय प्रमुख रिजालले बताए । कार्यालयमा दोस्रो चौमासिकमा तीन लाख ३२ हजार ७५० राजश्व संकलन गरेको छ भने आठ महिनामा पाँच लाख ४० हजार ७६० संकलन भएको र बेरुजु नरहेको रिजालले बताए ।

उनले खाद्य स्वच्छता अभियानमा होटल लोगो स्तरीकरण तथा नविकरण, सडक छेउछाउ विक्री हुने खाद्यपदार्थको खाद्य स्वच्छता अभिवृद्धि कार्यक्रम तथा दुध,तेल तथा पानी उद्योगको अनुगमन गरिएको बताए । उनले हेटौंडा कार्यालयबाट गरिएको अनुज्ञापत्र, जारी नवीकरण तथा सिफारिशमा विभिन्न खाद्य समूहका ३५ वटा जारी, ४३ नविकरण, ११० वटा सिफारिश गरिएको बताए ।
कार्यक्रममा विभिन्न जिल्लाका खाद्य प्रविधि तथा गुण नियन्त्रणका प्रमुख, उपभोक्ता, उपभोक्ता अधिकारकर्मी, उद्योगी, सञ्चारकर्मीले राखिएको जिज्ञासाको जवाफ दिदैं विभागका महानिर्देशक उपेन्द्र रायले विभागले खाद्य र दानाको काम गर्ने र झण्डै १३० खाद्यवस्तुको अनुगमन, परिक्षण, नविकरण, जारी, सिफारिश, खाद्य तथा दानाको नमुना संकलन तथा विश्लेषण गरिने बताए ।
निकट भविष्यमा कीटको माध्यमबाट परिक्षण गरिने तयारीमा विभाग रहेको बताउदैं उक्त परिक्षण विभागको केन्द्रीय प्रयोगशालामा गरिने बताए । भारतबाट नेपाल आउने खाद्यवस्तुको ठुलो नाका वीरगञ्जमा आयात गर्ने व्यवसायी अब काठमाडौं जान नपर्ने गरि डिजिटल हस्ताक्षर सहित प्रविधि भन्सारमा राखिने तयारी अन्तिम चरण पुगेको बताए । जसबाट व्यवसायीलाई विभाग आएर गरिने प्रक्रिया नाकाबाट नै सेवा उपलब्ध हुनेछ ।
आगामी आ.व देखि लागुगर्ने गरी स्थानीय सरकारको सहकार्यमा विद्यालय क्षेत्र तथा ग्रामिण भेगमा पाइने अखाद्य वस्तुको विषयमा कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए । कार्वनअक्साइड, नुन र प्रोटिन बढीमात्रामा भएको चिजवस्तु जङ्कफुड हो यसलाई प्रयोग नर्गन सबैमा आग्रह गरे ।
कार्यक्रममा विभागका योजना अनुगमन तथा मुल्यांकन शाखा प्रमुख सुमन धिताल, खाद्य आयतनिर्यात गुणस्तर प्रमाणिकरण कार्यालय वीरगञ्जका प्रमुख हस्त राई, मकवानपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधब न्यौपाने,उपभोक्ता मञ्च मकवानपुरका अध्यक्ष कुमार पौडेल, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्र कंडेल, हेटौंडा दुग्ध वितरण आयोजनाका रुपलाल यादव, उपभोक्ता हित संरक्षण मञ्चका मदन रिजाल लगायत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।








