
मकवानपुरको मकवानपुरगढी गाउँपालिकाको समथरमा भन्दा पनि बढी वनजङ्गल नजिक खेतबारी रहेका छन् । डाँडाकाँडाहरु संगै वन जङ्गलका नजिक रहेका खेतबारीमा लगाइएका अन्नबाली तथा तरकारीबाली खाएर बाँदरले किसानलाई दुख दिइरहेको छ । वर्षभरि खानको लागि लगाएको बाली बाँदर, मृग तथा अन्य जनावरले खादाँ समस्यामा परका किसानलाई मकवानपुरगढी गाउँपालिकाले बढी बाली नोक्सान पु¥याउने बाँदरलाई धपाउन उपकरण वितरण गरिने भएको छ ।
वर्षौदेखि बाली विरुवामा नोक्सान गर्दै किसानलाई दुख दिएकोले ठुलो आवाज निकालेर बाँदर धपाउने उपकरण वितरण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईले बताए । गाउँपालिकाले बजेट विनियोजन गरी किसानलाई बाँदर धपाउने दुई सय ८० वटा उपकरण वितरण गर्न लागिएको अध्यक्ष हुमागाईले बताए । गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ पहिलो चरणमा दुई सय ८० वटा उपकरण खरिद गरि वितरण गरिने अध्यक्ष हुमागाईले बताए ।
गाउँपालिकाले उपकरण वितरण गर्नका लागि सूचना प्रकाशित समेत गरेको छ । बाँदर धपाउने उपकरण पनि गाउँपालिका वडा नम्बर ५ का किसानले निर्माण गरी उपलब्धता गराउनुभएको छ । उक्त उपकरण गाउँपालिकाले निशुल्क वितरण गर्ने अध्यक्ष हुमागाईले बताए ।
गाउँपालिकाले १ गते आइतबार सूचना जारी गर्दै निवेदन पेश गर्न भनेको छ । १५ दिन भित्रमा आवश्यक कागजपत्रका साथ निवेदन पेश गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले आग्रह गरेका छन् ।
गाउँपालिकाका ८ वटै वडाका बाँदर प्रभावित क्षेत्रका टोलविकास संस्था, सहकारी संस्था, कृषक समुह, कृषि फर्महरुले उपकरणको माग गर्न सकिने अधिकृत पुडासैनी बताए । उपकरण माग गर्दा निवेदकले निवेदनको साथमा संस्था र समुहको हकमा उपकरण माग गरिएको बैठकको निर्णय प्रतिलिपी, संस्था दर्ता, स्थायी लेखा नंम्बर तथा करचुक्ताको प्रतिलिपी, सम्बन्धित वडाको सिफारिस पत्र पेश गरिनुपर्ने पुडासैनीले बताए ।
उपकरणले जीवजन्तुलाई तर्साउनु/डराउनुका साथै बालीविरुवामा आएकालाई भगाउन प्रयोग हुने जनाइएको छ । बन्दुक पड्काएको जस्तो आवाज आउने उपकरणले ठुलो आवाज आउने भएकाले बाँदर सहित अन्य जीवजन्तु भगाउन सकिने अनुमान गाउँपालिकाले लिएको छ । जसबाट किसानले लगाएका अन्नबाली र तरकारीबाली नष्ट हुनबाट बच्नेछ ।








