
सरकारले कोभिड १९ रोग विरुद्ध विभिन्न चरणमा खोपको कार्यक्रम गरिरहेको छ । हाल सम्म पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी, कुटनितिकज्ञ लगायतले खोप लगाई सकेका छन् । दोस्रो चरणमा भने अब सरकारले उमेर समुह तोकेर आमनेपाली नागरिकलाई खोप लगाउने कार्य आइतबार बाट सुरु गरेको छ ।
सोही अनुरुप मकवानपुरगढी गाउँपालिकाले कोभिड १९ रोग विरुद्धको खोप कार्यक्रम गरेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एक सय वर्षका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाएर खोप कार्यक्रमको सुरुवात गरिएको छ ।
गाउँपालिकाका वडा नंबर ४ का एक सय वर्षका छविलाल लामिछानेले कोरोना विरुद्धको खोप लगाए पश्चात गाउँपालिकाको प्रत्येक वडामा खोप लगाउने कार्य भइरहेको छ । आज वडा नम्बर १ आपँटार सामुदायिक स्वास्थ्य ईकाइमा र भोली सोमबार मकवानपुरगढी स्वास्थ्य चौकी शिखरकटेरीमा खोप लगाइने गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुबप्रसाद लामिछानेले बताए ।
गाउँपालिकामा ६५ वर्ष माथि उमेर समूहका सबै वडाहरुमा खोप लगाइनेछ । पहिलो पटक गाउँपालिकालाई ९०० जनालाई खोपको डोज आइपुगेको र सोही अनुरुप वडागत कार्यक्रम सञ्चालन गरिएको संजोजक लामिछानेले बताए । गाउँपालिकामा करिब ३ हजार ४ सय जति जेष्ठ नागरिक रहेका छन् । हाल सम्म वडा नम्बर ३ मा ३७ महिला र ५१ पुरुष गरी ८८ जनाले खोप लगाए भने वडा ४ मा मनकामनामा ३० महिला र ४१ जना पुरुष गरी ७१ जनाले खोप लगाए ।
त्यस्तै वडा ५ आमभञ्ज्याङ स्वास्थ्य चौकीमा ५६ जना महिला र ६३ जना पुरुष गरी ११९ जनाले खोप लगाएको संयोजक लामाछिनेले बताए । वडा नम्बर ६ को डुम्रेकुना सामुदायिक स्वास्थ्य इकाइमा भने ४० जना महिला र ४४ जना पुरुष गरी ८४ जनाले खोप लगाएका छन् ।
वडा नम्बर ७ सुकौरामा २५ जना महिला र २८ जना पुरुष गरी ५३ जनाले कोरोना विरुद्धको खोप लगाए भने वडा नम्बर ८ बुढीचौरमा ३५ जना महिला र ४१ जना पुरुष गरी ७६ जना सहित कुल ४९१ जनाले खोप लगाएका छन् । खोप कार्यक्रममा हाल सम्म कुनैपनि भवितव्य ठुला असर नभएको र केहिमा मात्र सामान्य असर देखिएको संयोजक लामिछानेले बताए । गाउँपालिकामा आएको खोपको ९० भायल मध्ये ४७ भायल खर्च भएको ४३ भायल बाकीँ रहेका बताउदैं ४३० जनालाई खोप लगाउन पुग्ने बताए । वडा १ र वडा २ मा खोप लगाउन बाकीँ रहेको छ । ६५ वर्ष माथीको जेष्ट नागरिकको तथ्याङ्क अनुसार हाल सम्म ७० प्रतिशतलाई खोप लगाउन सफल भएको लामिछाने बताउछन् । उनी भन्छन् कोही दीर्घरोगी, बोकेर ल्याउनु पर्ने त कोही टाढा रहेकोले खोप लगाउन नसकिएको बताए ।
उनले खोप कार्यक्रमका लागि २० जना स्वमं सेवक, १२ जना खोप लगाउने दक्ष स्वास्थ्यकर्मी, ६ जना सुपरभाइजर सहितको टोली खटिएको बताए । खोप लगाइसके पश्चात भवितव्य केहि समस्या आएको खण्डमा आवश्यक स्वास्थ्य उपकरण, औषधि र अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राखि खोप सञ्चालन गरीएको बताए ।








