
सिधाखबर \ सरकारले कोभिड १९ रोग विरुद्ध विभिन्न चरणमा खोपको कार्यक्रम गरिरहेको छ । हाल सम्म पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी, कुटनितिकज्ञ लगायतले खोप लगाई सकेका छन् । दोस्रो चरणमा भने अब सरकारले उमेर समुह तोकेर आमनेपाली नागरिकलाई खोप लगाउने कार्य आइतबार बाट सुरु गरेको छ ।
सोही अनुरुप मकवानपुरगढी गाउँपालिकाले कोभिड १९ रोग विरुद्धको खोप कार्यक्रम गरेको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा एक सय वर्षका जेष्ठ नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप लगाएर खोप कार्यक्रमको सुरुवात गरिएको छ ।
गाउँपालिकाका वडा नंबर ४ का एक सय वर्षका छविलाल लामिछानेले कोरोना विरुद्धको खोप लगाएका छन् । वडा नम्बर २ का स्वास्थ्य चौकी प्रमुख विदुर लामिछानेका हजुरबा रहेका लामिछानेलाई पहिलो खोप लगाई खोप कार्यक्रमको सुरुवाती गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव प्रसाद लामिछानेले बताए ।

गाउँपालिकामा ६५ वर्ष माथि उमेर समूहका सबै वडाहरुमा खोप लगाइनेछ । पहिलो पटक गाउँपालिकालाई ९०० जनालाई खोपको डोज आइपुगेको र सोही अनुरुप वडागत कार्यक्रम सञ्चालन गरिएको संजोजक लामिछानेले बताए । गाउँपालिकामा करिब ३ हजार ४०० जति जेष्ठ नागरिक रहेका छन् ।
गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको उपस्थितीमा खाप कार्यक्रम सुरुवात गरिनुका साथै गाउँपालिकाद्धारा निर्मित अस्थायी कोभिड १९ अस्पतालको पनि उद्घाटन गरी सेवा सञ्चालन गरिएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हुमागाईले कोरोनाले आक्रान्त बनाइ रहेको अवस्थामा खोप लगाउने कार्यक्रम स्वागतयोग्य रहेको बताए । उनले गाउँपालिकाबासीलाई ढुक्क भएर खोप लगाउन आग्रह गर्नुका साथै केहि समस्या आएमा थप उपचार गरिने समेत बताए । कार्यक्रममा वडा ३ का अध्यक्ष भागवत घिमिरे, वडा ४ का अधयक्ष रामप्रसाद तिमल्सिना, वडा ५ का अध्यक्ष जीत बहादुर घिमिरे, प्रमुख प्रशासकीय अधिकृत राम कुमार पुडासैनी, मेडिकल अधिकृत डा. मुकेश कुमार शाह, स्टाप नर्स, स्वास्थ्य स्वयं सेविका लगायत वडा नम्बर ३ र ४ का जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
गाउँपालिकाले भोली अर्थात् २४ गते वडा नम्बर ४ मनकामना खोप केन्द्र, २५ गते आमभञ्ज्याङ स्वास्थ्य चौकी, २६ गते डुम्रेकुना सामुदायिक स्वास्थ्य ईकाइ, २७ गते सुकौरा स्वास्थ्य चौकी, २८ गते बुढीचौर स्वास्थ्य चौकी, चैत्र १ गते वडा नम्बर १ आपँटार सामुदायिक स्वास्थ्य ईकाइ र २ गते वडा नम्बर २ मकवानपुरगढी स्वास्थ्य चौकी शिखरकटेरीमा खोप लगाईने स्वास्थ्य शाखा संयोजक लामिछानेले बताए ।
उनले खोप कार्यक्रमका लागि २० जना स्वमं सेवक, १२ जना खोप लगाउने दक्ष स्वास्थ्यकर्मी, ६ जना सुपरभाइजर सहितको टोली खटिने बताए । खोप लगाइसके पश्चात भवितव्य केहि समस्या आएको खण्डमा आवश्यक स्वास्थ्य उपकरण, औषधि र अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताए ।








