
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको ५३ औं वार्षिक साधारण सभा भएको छ । विहीबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ धादिङमा सभा भएको हो । नेपाल रेडक्रस सोसाइटी आमभञ्ज्याङ उपशाखाको आतिथ्यतामा गरिएको सभा रेडक्रस सोसाइटीका केन्द्रीय तदर्थ समितिका अध्यक्ष डाक्टर नेत्र प्रसाद तिमल्सीनाको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको विशेष आतिथ्यतामा रहेको थियो ।
वर्षभरि रक्तदान गर्ने संघसंस्थाहरु मध्ये विन्दबासिनी मिडिया प्रा.लिद्धारा सञ्चालित रेडियो थाहा सञ्चारलाई सबैभन्दा धेरै रगत संकलन गर्ने संस्थाको रुपमा सम्मान गरिएको छ भने जिल्लाभरि विद्यालय जुरेस शिक्षक नायक मध्ये शारदा माध्यामिक विद्यालयका शिक्षक चन्द्रलाल महर्जन उत्कृष्ट शिक्षकको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल, रेडक्रसका केन्द्रीय सदस्य तथा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, वडा नम्बर ५ का वडा अध्यक्ष जीत बहादुर घिमिरे, वडा नम्बर ४ का रामप्रसाद तिमल्सिना, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी, डिएलपीआइयु शिक्षा मकवानपुरका प्रमुख बद्री बहादुर पाठक, तत्कालिन जिल्ला विकास समितिका पूर्व उपसभापति बद्री लम्साल, नारायणी यातायात कम्पनी लि.का प्रवन्धक सरोज खनाल, रेडक्रसका मन्त्री रामजी सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो । सभा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपानेको अध्यक्षतामा भएको थियो ।








