
नेपाल प्रेस युनियन मकवानपुर शाखाले नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन लक्षित भेलाको आयोजना गरी छलफल तथा अन्तरक्रिया गरेको छ । बुधबार प्रेस युनियनमा आवद्ध रहेका पत्रकारहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । प्रेस युनियन मकवानपुरका अध्यक्ष कुमार अधिकारी पोष्टराजको अध्यक्षतामा भएको कार्यक्रममा युनियनका मध्यमाञ्चल संयोजक राममणी दाहालको प्रमुख आतिथ्यता रहेको थियो ।
भेलामा बोल्दै संयोजक दाहालले युनियन बलियो बनाउनका लागि व्यक्तिगत स्वार्थ र गुटगत प्रवृत्ति त्याग्न आवश्यक रहेको औँल्याएका थिए । संगठनको हितका लागि यस्ता भेला र छलफल आवश्यक हुने समेत बताएका थिए । उनले प्रेस युनियनका केन्द्रीय पार्षद् समेत बनेका तथा नेपाली कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने कलेजोमा देखिएको समस्या देखि भारतमा उपचार गरि नेपाल फर्किनु भएको अवस्थामा उहाँको स्वास्थ्य लाभको युनियन परिवारले कामना समेत गरेको बताए ।
कार्यक्रममा युनियनकर्मीहरुले आसन्न पत्रकार महासंघको निर्वाचनमा युनियनको उपस्थिति कस्तो रहने भन्ने सन्दर्भमा आ–आफ्नो राय पेश गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष सम्झना कार्की, युनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, पूर्व अध्यक्ष गोकर्ण सुवेदी, अग्रज पत्रकार राजन दाहाल खुशराज, प्रेस युनियनका केन्द्रीय पार्षद् एवम् रामेछापका पत्रकार युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर ज.ग थापा र नेपाल पत्रकार महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले प्रेस युनियनबाट लोकप्रिय, श्रमजिवी र आम पत्रकार तथा संचारमाध्ययमको हित गर्नसक्ने व्यक्ति पत्रकार महासंघको निर्वाचनमा उम्मेदवार हुनुपर्ने धारणा व्यक्त गरे ।
सोही भेलामा नवयुग अनलाइनमा कार्यरत राममणि न्यौपाने प्रेस युनियनमा प्रवेश गरेका छन् । निर्वाचन लक्षित परिचालन गर्नका लागि युनियन मकवानपुरका सचिव केशव समपर्णको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ ।








