मुख्य खबरसमाचारफिचर

मकवानपुरगढीमा आइतबारबाट कोभिड विरुद्धको खोप लगाइने

संवाददाता

सरकारले कोभिड १९ रोग विरुद्ध विभिन्न चरणमा खोपको कार्यक्रम गरिरहेको छ । हाल सम्म पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, जनप्रतिनिधि, कर्मचारी, कुटनितिकज्ञ लगायतले खोप लगाई सकेका छन् । अब सरकारले उमेर समुह तोकेर आमनेपाली नागरिकलाई खोप लगाउने तयारी गरिहेको छ ।

सोही अनुरुप मकवानपुरगढी गाउँपालिकाले यही २३ गते आइतबारबाट कोभिड १९ रोग विरुद्धको खोप कार्यक्रम गरिने भएको छ । मंगलबार गाउँपालिकामा खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम गर्दै २३ गते सञ्चालन गरिने कार्यनिति र कार्यक्रम बारे छलफल गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको अध्यक्षतामा भएको छलफलमा कोभिड १९ रोग, अभियान सञ्चालनको औचित्य र प्रक्रिया, रोग विरुद्ध खोप तथा आपूर्ति व्यवस्थापन, सुक्ष्म योजना तथा सुचना, शिक्षा संचार रसामाजिक परिचालन र खोप सेसन सञ्चालन, व्यवस्थापन र परामर्श विषयमा कार्यपत्र प्रस्तुत गरि सहभागि ८ वटा वडाका वडा अध्यक्ष, स्वास्थ्य चौकी र ईकाइ प्रमुख, स्वास्थ्य स्वमंसेविकालाई जानकारी गराइएको थियो ।

'स्वास्थ्य समृद्धि र सुरक्षा, कोभिड १९ खोपले गर्छ रक्षा' भन्ने नाराका साथ वडा नम्बर ३ मा निर्मित अस्थायी कोभिड अस्पताल परिसर फुटसलमा आइतबार ५५ वर्ष माथी नागरिकलाई पहिलो चरणमा खोप लगाइने गाउँपालिका अध्यक्ष विदुर हुमागाईले बताए । उनले आफ्नो परिचय खुल्ने सरकारी कागजपत्र लिई पायक पर्नेले पहिलो चरणको खोप लगाउन गाउँपालिका बासीलाई आग्रह गरेका छन् । अभिमुखीकरणमा गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक धु्रुव लामिाछानेले खोप लगाउने तरिका, किन लगाउने, कस्तो अवस्थाकालाई कोभिड खोप दिन नहुने र दिन हुने, खोप दिदाँ अपनाउनुपर्ने सावधानी जस्ता विषयवस्तु स्पष्ट पारेका थिए ।

कार्यक्रममा गाउँपालिकाको अस्थायी कोभिड अस्पतालका डा. मुकेश कुमार शाहले खोप लगाए पछि हुने केहि असर र त्यसको गरिनुपर्ने व्यवस्थापनको विषयमा जानकारी गराएका थिए । उनले पहिलो पटक लगाउने नागरिकमा चासो पनि हुने र चिन्ता पनि हुने बताए । केहिले खोप नै नलगाएको पनि पाइएको बताउदैं डा. शाहले खोप लगाए पछि लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुने, सामान्य ज्वरो आउने, टाउको दुख्नुका साथै आलस्य महशुस भइ वाकवाकी लाग्ने बताए । यी सामान्य असरले मानिसमा केहि फरक नपर्ने बताए । उनले १८ वर्ष उमेर समूहलाई ०.५ मिलिलिटर खोप लगाइनुपर्ने बताए ।

खोप लगाउँदा सिनियर अहेव, स्टाफ नर्स र एक जना अनमी फोकल पर्सन राखी सेवा गरिनु पर्ने नियम अनुसार गाउँपालिकाले पनि सोही अनुसार पूर्व तयारीमा रहेको जनाइएको छ । २३ गते आइतबार गाउँपालिकाको अस्थायी कोभिड अस्पताल परिसरमा ५५ वर्ष माथीका उमेर समूहकालाई खोप लगाइने र सोही दिन अस्पतालको औपचारिक रुपमा सेवा सञ्चालन गर्ने गरि उद्घाटन गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले बताए ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हर्कमाया रुम्बा, वडा अध्यक्ष वडा २ का बखान सिं पाख्रिन, सामाजिक विकास संयोजक तथा वडा ५ का अध्यक्ष जीत बहादुर घिमिरे, वडा ३ का भागवत घिमिरे, ४ का अध्यक्ष रामप्रसाद तिमल्सिना, ८ का कुमार सिं घिसिङ, महिला तथा बालबालिका शाखाका मन्दिरा थापा, शिक्षा शाखाका प्रमुख रामकुमार घलान, रेडक्रस गाउँपालिका संयोजक रामजि सापकोटा, ८ वटै वडाका स्वास्थ्य चौकी र स्वास्थ्य इकाईका प्रमुख, स्वास्थ्य स्वमंसेविका, विद्यालयका प्रअ, विद्यालयका अध्यक्ष, सञ्चारकर्मी श्रीराम अर्जुन लगायतको सहभागिता रहेको थियो ।