
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कम्युनिष्टलाई यति ठुलो बनाएकै नेपाली कांग्रेसले हो भन्नुभएको छ । हेटौंडामा शनिबार दिव्यतारा बहुउद्देश्यीय सहकारीद्धारा सञ्चालित रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले २०४६ तिर बामे सर्दै बैशाखी टेकेर अघि बढिरहेको अवस्थामा कांग्रेसले साथ र सहयोगले यति ठुलो भएको बताउनुभयो ।
उहाँले सहकारीले कृषि र पशुपालनमा जुन लगानी गरेको छ सोही अनुरुप सरकारले नगरेको बताउनुभयो । विपीले जनतालाई कृषि क्षेत्रमा ३ प्रतिशत व्याजमा अनुदानका कार्यक्रम ल्याएर कृषि उत्पादनमा परिवर्तन गरी जनताको आर्थिकस्तर वृद्धि गराएका थिए भन्दै सहकारीले गरेको योगदानको प्रशंशा गर्नुभएको थियो ।

वर्तमान राजनितिक विषयमा बोल्दै नेपाली कांग्रेस अहिले धेरै टिकाटिप्पणी गर्ने अवस्थामा नरहेको बताउनुभयो । अहिलेको राजनितिक अवस्था महत्वपूर्ण र संवेदनशील रहेको बताउँदै महामन्त्री कोइरालाले नेपाली कांग्रेस न ओली समूह पक्षमा उभिएको न त प्रचण्ड नेपाल समूहमा उभिएको छ भन्नुभयो । हामी अहिले तत्कालै कुनै समुहका उभिन नसक्ने बताउनुभयो । आगामी दिनमा हाउस जसरी प्रस्तुत रहन्छ सोही अनुरुप कांग्रेस लाग्ने बताउनुभो ।
महामन्त्री कोइरालाले सामाजिक अभियान्ता पूर्व बक्सिङ खेलाडी समेत रहेका खेलप्रेमी शुसिल घिमिरे, सडक बालबालिका संरक्षण गर्दै आउनुभएका मामाघर नेपालका संरक्षक अर्पण पराजुली, रेडियोका संस्थापक प्रवन्धक निर्देशक कृष्ण अर्याल, स्टेशन म्यानेजर रिपेश दाहाल, आशिष दुलाल, राममणि दाहाल, रेडियोका उत्कृष्ट कर्मचारी सम्झना रिजाललाई सम्मान गर्नुभएको थियो ।
सहकारीका अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक गिरी, प्रदेश सभा सदस्य तथा नेकपा मकवानपुरकी अध्यक्ष मुनु सिग्देल, नेवि संघका केन्द्रीय अध्यक्ष राजिव ढुङ्गाना, कार्यवहाक सभापति विष्णु प्रसाद लामिछाने, प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल लगायतले आफ्नो भनाइ राखेका थिए ।








