
मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ सुकौरामा रहेको जनता माध्यामिक विद्यालयको विहीबार ३७ औं अभिभावक भेला भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख अतिथ्यता रहेको थियो ।
अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक होम बहादुर नेपालीले विद्यालयको शैक्षिक, भौतिक, प्रशासनिक तथा आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । उनले विद्यालयमा २१ ज्ना शिक्षक कर्मचारी रहेको जानकारी गराउदैं गाउँघरमा चाडपर्व, छ्यावार, संक्रान्ती, जन्मोउत्सव लगायत अन्य पर्वका दिन विद्यालयका आधा भन्दा बढी विद्यार्थी पढ्न लेख्न नआउने गरेकोले अभिभावक समक्ष बालबालिका विद्यालय पठाउन आग्रह गरे ।
विगतमा वर्षभरि ४२ जना, त्यसपछि गत वर्ष २७ जना र यस आवमा अर्धवार्षिक परिक्षा सम्म ५० जना भन्दा बढी विद्यार्थीले विद्यालय छाडेको तथ्य पेश गर्दै विद्यार्थीले विद्यालय नछाड्ने अवस्थामा पु¥याउन अभिभावक, जनप्रतिनिधि, वडा कार्यालय र गाउँपालिकाले ध्यान दिनुपर्ने जरुरी रहेको बताए ।
युएसएआइडीले निर्माण गरेको सुसम्पन्न नयाँ विद्यालय भवनमा अर्को वर्षबाट कक्षा ११ सञ्चालन गर्ने योजना रहेकोले त्यसका लागि चिठ्ठा कार्यक्रम र धार्मिक कार्यक्रम आयोजना गरिने बताउदैं प्रअ नेपालीले गाउँपालिकाको सहयोगमा कक्षा कोठा र विद्यालयको हाता भित्र सिसी क्यामेरा जडान र कक्षा कोठाहरुमा स्मार्ट वोर्ड र शिक्षकहरुलाई ल्यापटप वितरण गरिने योजना रहेको बताए ।
शिक्षा विकास निर्देशनालय मार्फत १० लाख को भाषा प्रयोगशाला स्थापना गरिएको र युएसएआइडी/ एनआरईएस परियोजनाले निर्माण गरेको नयाँ भवन निर्माण सम्पन्न भएको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विदुर हुमागाईले विद्यालयको भौतिक संरचना बलियो र सुसम्पन्न रहेको अवस्थामा अब शैक्षिक प्रणाली परिवर्तन गरी प्रविधि संग जोडिएर शैक्षिक सुधार गरिनुपर्ने बताए । सुकौरामा स्वास्थ्य र शिक्षाका लागि सहयोगीदाताहरुबाट निर्मित अत्याधुनिक भवन र सोही अनुसार सेवा प्रदान गरिने बताउनुभयो ।
कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने दाताहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको थियो भने विभिन्न कक्षाका विद्यार्थी उत्कृष्ठ अंक ल्याउनेलाई पुरस्कृत गरिएको थियो ।
भेलामा वडा नम्बर ७ का वडा अध्यक्ष सुर्य बहादुर रुम्बा, गाउँपालिकाका शिक्षा शाखा प्रमुख राम कुमार घलान, सामाजिक विकास संयोजक तथा वडा ५ वडा अध्यक्ष जीत बहादुर घिमिरे, गाउँपालिकाका श्रोत शिक्षक इन्द्र बहादुर कार्की, विद्यालयका पूर्व अध्यक्ष बाबुलाल योन्जन, बीर बहादुर रुम्बा, समाजसेवी जय बहादुर घलान र गोकुल लम्साल,अर्थविद् तथा समाजसेवी सुदर्शन अधिकारी, वडा सदस्यहरु, विद्यालयका पूर्व व्यवस्थापनका पदाधिकारी, टोल विकासका पदाधिकारी, सहकारी, वनका प्रतिनिधि, अभिभावक, शिक्षक र विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।








