
बागमती प्रदेशसभाको बैठक स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दल बागमती प्रदेशले उपसभामुखलाई विरोध पत्र बुझाएको छ ।
बैठक स्थगितको विरोधमा संसदीय दलकी नेता अष्टलक्ष्मी शाक्यले सभामुख सम्पर्क विहीन भएको बताउदैं उपसभामुख राधिका तामाङलाई विरोध पत्र हस्तान्तरण गरेकी हुन् । विरोध पत्र प्राप्त पश्चात बाग्मती प्रदेशकी उप सभामुख तामाङले प्रदेशसभाका सचिव कृष्ण हरि खड्कालाई दिइकी छिन् ।
प्रदेशसभा सचिवालयमा पत्रकार सम्मेलन गर्दै नेता शाक्यले मुख्यमन्त्री र सभामुखको यस्तो खालको प्रतिगमनको कदमले प्रदेशसभाको औचित्यहिन षडयन्त्र भएको बताइन् ।
सभामुखको यो कदमले सङ्घीयतालाई नै समाप्त पार्ने सङ्घीयता बिरोधिहरुको योजनालाई सफल पार्ने कार्य त भइरहेको छैन भन्ने प्रश्न उठेको भन्दै प्रदेशसभालाई अनिर्णयको बन्दी बनाएको र प्रदेशसभाको मर्यादा, मूल्यमान्यता, स्वतन्त्र भूमिका सबै समाप्त पार्ने काम भएकाले सम्पूर्ण राजनैतिक दललाई यो गलत कार्यको विरुद्धमा उभिएको पत्रमा उल्लेख गरीएको छ । कार्यक्रममा पूर्व मन्त्री शालिकराम जम्कट्टेल, युवराज दुलाल, सांसद राजेन्द्र पाण्डे, प्रेम बहादुर पुलामी लगायतका सांसलहरुको उपस्थिती रहेको थियो ।








