
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र निर्माणको अभियानमा सबै सरोकार निकायको सहकार्य र सहयोग आवश्यक हुने बताएका छन् । मकवानपुर जिल्लालाई सहयोगापेक्षी जिल्ला घोषणा गरेको दोस्रो वर्ष पुरा भएको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा उनले सहयोगापेक्षी सडक मानव मुक्त राष्ट्रिय निर्माणमा सबैको सहकार्य जरुरी रहेको बताएका हुन् ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर बिकेले मानव सेवा आश्रमले गरेको कार्य मानवताको उदाहरणिय कार्य भएको बताए । उनले तीन तहका सरकारले यसमा सहयोग गर्नुपर्ने भन्दै उनले बागमती प्रदेश सरकारले यसलाई अभियानकै रुपमा सुरु गरेको बताए । उनले सहयोगिपेक्षी मानव सडकमा आउनुको कारण पत्ता लगाएर त्यसमा काम गर्नुपर्ने भन्दै त्यस्ता मानवहरु सडकमा नआउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा सहयोगापेक्षी मानव मुक्त जिल्ला घोषणापश्चात मानवसेवा आश्रमको मुख्य कार्यालय हेटौंडाले प्रदान गरेका सेवाहरुका बारेमा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले कार्यक्रम प्रस्तुत गरेका थिए उनले मानवसेवा आश्रमले सहयोगापेक्षी सडक मानवमुक्त मकवानपुरको घोषणापश्चात् हालसम्म २ सय ७२ जनाको उद्धार गरिसकेको छ भने १ सय १७ जनाको पारिवारिक पुनर्मिलन गरेको छ । आश्रममा ३१ जनाले देहत्याग गरेका छन् भने, आश्रममा हाल २ सय ५ जना ले सेवा लिईरहनुभएको बताए । कार्यक्रममा बालबालिकाहरुलाई संरक्षण गर्दै आएको मामाघर नेपाल मकवानपुरका संरक्षक अर्पण पराजुलीले घोषणाको दुई वर्षमा जिल्लामा निकै परिवर्तन भएको बताए ।
कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव हरि लम्साल, उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेल, सिविन बाल हेल्पलाइन मकवानपुरका संयोजक झवेन्द्र ज्ञवाली, सि आन पुर्नस्थापना केन्द्रका प्रमुख सौजन डिसी, ओम बृद्धाश्रमका सचिव दिपक सुवेदीलगायत सहयोगी संस्थाका प्रतिनिधिहरुले अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए ।








