
बागमती प्रदेश राजधानी हेटौंडामा आयोजित राष्ट्रिय योजना आयोग र प्रदेश नीति तथा योजना आयोगका प्रमुख तथा पदाधिकारीबीच योजना निर्माण तथा कार्यान्वयन सम्बन्धमा भएको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अब आयोग आफै परिवर्तन हुनु जरुरी रहेको बताउदैं काम गर्ने तौलतरिका परिवर्तन हुन नसके प्रदेश अनि राष्ट्रमा समृद्ध नेपाल सुखी नेपाली भनिरहनु बेकार रहने बताए ।
प्रक्रियागत कुराले केहि त्रुटि होला त्रुटि रहदाँ रहदैं सफल भइएता पनि चाहे अनुसारको काम गर्न नसकिएको बताए। उनले नीति योजना एकातिर बजेट अर्कोतिर हुने खालको विकासे योजना भइरहेको अवस्थामा यस्तो प्रणालीको अन्त्य गरी अब समन्वयमा काम गरीनुपर्ने बताए । केन्द्रले ल्याएको योजना र बजेट पूर्व अनुगमन, योजना र कतिको आवश्यकता छ भनी मुल्यांकन गरेर मात्र योजना गरिनुपर्ने बताए । योजना छनौट गर्दा मापदण्ड केहो कसरी गरिने र सोही अनुरुप बजेट विनियोजन गरिनुपर्ने बताए । उनले सातवटै प्रदेशको सामुहिक समस्यामा एकढिक्का भई परिणाममुखी योजना बनाई काम गर्नुपर्ने बताए ।
छलफलमा उठेका समस्याबारे राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कंडेलले राष्ट्रिय योजना आयोगले प्रादेशिक आयोग संग समन्वय गरिनुपर्थो तर समन्वय गरि काम गर्ने बाटो नभएको बताए । कानुनमा टेकेर गरिनु पर्छ काम तर कानुन नभएकोले केहि समस्या नै रहेको भन्दै हाल तहगत समन्वय सम्बन्धी कानुन तयारी अवस्थामा रहेकाले अबको दुई महिनामा सहजरुपमा केन्द्र र प्रदेशको समन्वयात्मक रुपमा काम गरिने बताए । ।
कार्यक्रममा सात प्रदेशका आयोगले हाल सम्म गरिएका कार्य योजना, अवस्था, समस्या र भावी योजनाबारे कार्यपत्र प्रस्तुत गरीएको थियो । राष्ट्रिय योजना आयोगको तर्फबाट पनि सह सचिव खेमराज कोइरालाले राष्ट्रिय योजना आयोग तथा योजना प्रणाली र विद्यमान सवालहरुका बारे जानकारी गराएका थिए ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, राष्ट्रिय योजना आयोग र प्रदेशका आयोगका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।








