मुख्य खबरसमाचारफिचर

दोस्रो बालमैत्री गाउँपालिका बकैया घोषणा

संवाददाता

मकवानपुरको बकैया गाउँपालिका नेपालको दोस्रो बालमैत्री गाउँपालिका घोषणा भएको छ । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बनेको थियो । विहीबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बकैया गाउँपालिका नेपालमै स्थानीय शासन अवलम्बन गर्ने दोस्रो बालमैत्री गाउँपालिका भएको घोषणा गरेका हुन् । घोषणा गर्दै मुख्यमन्त्री पौडेलले देशमै दोस्रो बालमैत्री बनेकोमा बधाई दिँदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न र बालमैत्री सूचकको निरन्तर निगरानी राख्न समेत आग्रह समेत गरे ।

बालमैत्री सूचकहरू भित्र बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता महत्वपूर्ण कुरा भएकोले गाउँपालिकाका सबै पक्षहरूले यसलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले बागमती प्रदेशलाई बालमैत्री प्रदेश बनाउने तयारीमा अघि बढेको समेत बताए ।

यसैगरि घोषणा कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता इन्द्र बानियाँले बधाई दिँदै घोषणा अनुसार कार्यमा निरन्तर लागि पर्न आग्रह गरे । दोस्रो गाउँपालिका घोषणा हुनु मात्रै सफल भएको भन्ने ठाँन्न नहुने भन्दै निरन्तर काम गर्न उनले आग्रह गरे । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले घोषणा हुँदै गर्दा जिल्ला समन्वयले अनुगमन गर्दा पालिकाले सबै सुचकहरु पूरा गरेको बताए । घोषणा मात्रै ठुलो कुरा नभइ आगामी दिनमा गर्ने कामहरु निरन्तर गर्न उनले आग्रह गरे ।

गाउँपालिका अध्यक्ष दामोदर खनालको अध्यक्षतामा भएको घोषणा सभामा मुख्यमन्त्री पौडेल,प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता बानियाँ, प्रदेशसभा सदस्यहरु जुनेली श्रेष्ठ, सन्तबहादुर चेपाङ,जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख भगवती पुडासैनी, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखे,भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना ,बागमती गाउँपालिकाकी उपाध्यक्ष धन माया स्यांतान लगायतको उपस्थिति थियो।