
खबरबाकस \ बागमती प्रदेशको राजधानी हेटौँडामा मंगलबारदेखि तेस्रो ऐतिहासिक राष्ट्रिय बेटी सम्मेलन शुरु भएको छ । तीन दिन सम्म सञ्चालन हुने सम्मेलनको प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले महिलालाई अपमान गर्नु भनेको आफु अपमानित हुनु बताए । उहाँले आफु महिलाको हक अधिकार, बोल्न र लेख्न पाउने अधिकारको पक्षमा लागेको बताउदैं आफुले आफुलाई कमजोर नठान्न सबै महिला तथा किशोरी छोरीहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्कीले निर्मला पन्त–भागरथी भट्टको बलात्कारपछिको हत्यामा संलग्नलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने बताइन् । आसनमा,भाषणमा र शासनमा जब सम्म महिला पुग्दैनन् तबसम्म महिलाका क्षेत्रमा विकास नहुने बताइन् ।

लैङिगक विभेद बुझीदेउ, हिंसा होइन खुसी देउ– बालिका बलात्कार गर्नेलाई कित लिङ्ग मासीदेउ, कित अब फाँसी देउ भन्ने नाराका साथ मुलधार महिला सेवा केन्द्रले गरेको सम्मेलन बारे अध्यक्ष तथा सम्मेलन संयोजक नजबुल खानले समाजमा हुने महिला हिंसालगायत विभिन्न ‘कू’ प्रथाविरुद्ध र लैङ्गिक समानता र समावेशी अधिकारका लागि सम्मेलन गरिएको बताइन् ।
कार्यक्रममा एसिड पिडित मुस्कान खातुन र बिन्दबासिनी कंसाकारले आफुले भोगेको पिडादायी अवस्था व्यक्त गर्नुभएको थियो । आयोजकले सोही अवसरमा अभियानमा सहयोग पु¥याएकाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा पूर्व कृषि राज्यमन्त्री तथा प्रदेश सभा सदस्य करिमा बेगम प्रदेशका प्रमुख सचिव डा. मान बहादुर विश्वकर्मा, हेटौंडा उपमहानगरका उपमेयर मिना लामा बागमती प्रदेशका प्रहरी प्रमुख बसन्त कुमार लामा, एसएसपी मिरा चौधरी लगायत अभियानमा संलग्ग्न अभियान्ताहरुको सहभागिता रहेको थियो । सम्मेलनमा सात प्रदेशका करिब ८५ जनाको प्रतिनिधिमूलक सहभागिता रहेको छ । यसअघि पहिलो राष्ट्रिय वेटी सम्मेलन उदयपुर र दोस्रो धनुषामा भएको थियो ।








