मुख्य खबरसमाचारफिचर

हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने

संवाददाता

प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्ने भएको छ । नेकपा विभाजन पछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्ने भएको हो । बैठक अघि आज बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा नेकपाको प्रचण्ड–नेपाल समूहका सांसदहरुले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव टेबल गर्ने तयारी गरेका छन् । गएको पुस १२ गते नेकपाको प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

मुख्यमन्त्री राईको कारबाहीमा परेका १६ जना प्रदेशसभा सदस्यलाई बैठकमा उपस्थित हुन नदिने रणनीतिमा ओली समूहका प्रदेश सांसदहरु रहेका छन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्तापक्षले बैठक अवरुद्ध गर्ने तयारी गरेको बुझिएको छ ।