
मकवानपुरको बकैया गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने नेपालकै दोस्रो गाउँपालिका बन्ने तयारी रहेको छ । यसअघि मकवानपुरकै मनहरी गाउँपालिका बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने पहिलो गाउँपालिका बनेको थियो ।
शनिबार गाउँपालिकाको कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दै गाउँपालिकाका अध्यक्ष दामोदर खनालले तीन वर्ष देखि गाउँपालिकाले बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने तयारी सुरु गरेको बताए । उनले बालमैत्री गाउँपालिका घोषणा गर्न ३९ ओटा सूचकहरुमा रहेर बाल मैत्री घोषणाको अन्तिम तयारीमा रहेको बताए ।
मापदण्डमा १७ ओटा सूचक १०० प्रतिशत हाँसिल गर्नुपर्छ जसमा हामीले १९ वटा शतप्रतिशत हाँसिल गरिएको अध्यक्ष खनालले बताए । त्यसैगरी २२ वटा सूचक न्युनतम ८० प्रतिशत हाँसिल हुनुपर्ने हुन्छ जसमा २० सुचकमा हाँसिल गरीएको खनाल बताउछन् ।
उनले गाउँपालिकाको आवश्यकता भौतिक विकास मात्र नभई सामाजिक विकासमा पनि अगाडी बढिनु पर्ने बताउदैं अध्यक्ष खनालले गाविस हुदाँ देखिनै यो बालमैत्रीको योजना रहेको ३ वर्षमा सार्थकता पाउन लागेकोमा खुसी व्यक्त गरे । २९ गते विहीबार बृहत कार्यक्रमको आयोजना गरी बालमैत्री गाउँपालिका घोषणा गरिने बताए ।
गाउँपालिकाको १२ वटै वडामा बालमैत्री शासन अवलम्बन कार्यक्रमको लागि गाउँपालिका स्तरको बाल अधिकार समिति र बाल समूह संजाल गठन गरी टोल विकास र सरोकारवालाहरुको सहयोगमा बालमैत्रीको घोषणा गर्न सफल भएको गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले बताईन् ।
बकैया गाउँपालिकामा सविक धिँयाल, छतिवन, ठिङ्गन,मन्थली र शिखरपुर गाविस रहेका छन् । गाउँपालिकामा १२ वटा वडा रहेका छन् । गाउँपालिकामा ४६ हजार २४८ कुल जनसंख्या मध्ये पुरुष २३ हजार ८४५, महिला २२ हजार ४०३ रहेका छन् । गाउँपालिकामा बालक ९ हजार ४२८ र बालिका ८ हजार ३२ रहेको गाउँपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी,स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेल, सञ्चारकर्मी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।








