
नेकपाको गुटको प्रभाव प्रदेश, जिल्ला, गाउँपालिका, वडा हुदैं टोल विकास सम्म पुगेको छ । गत माघ ९ गते मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको कालिवन टोल विकास संस्थाको साधारण सभा भयो । निर्वाचन वर्ष भएकोले सबै पदाधिकारी सोही दिन सर्व सम्मत चयन भयो तर अध्यक्षमा भने ३ जनाको उम्मेदवारी रह्यो । निर्वाचन समितिले अथक प्रयास गर्दा पनि ९ गते सहमत नभए पश्चात निर्वाचनमा जाने भनी सुचना जारी गरियो ।
केन्द्रको राजनिति प्रभावले एक घरधुरी भएको टोल विकासमा यस्तो सम्म प्रभाव पर्छ भन्ने कोही कसैले पनि सोचेको थिएन् । निर्वाचन समिति माघ १६ अर्थात आजको दिन मतदान गर्ने भनि आवश्यक तयारीमा जुट्यो ।
नेकपाको ओली समुहबाट प्रेमनिधि तिमल्सिना, प्रचण्ड माधव समुहबाट सन्तोष घिमिरे र नेपाली कांग्रेसको तर्फबाट दामोदर अधिकारीको अध्यक्ष पदमा उम्मेदवारी दर्ता भयो । आफ्नो समुहको उम्मेदवार जिताउन वडा स्तरका नेताहरु लागि परेका थिए । अन्तत् माधव प्रचण्ड समुहका सन्तोष घिमिरेले ओली समुहका तिमल्सिनालाई सर्मथन गर्ने भनी सम्झौता गरिए पछि आज शुक्रबार दामोदर अधिकारी र प्रेमनिधि तिमल्सिनाबीच मतदान भयो ।
कालिवन टोलमा एक सय घरधुरी छन् बाक्लो बस्ती वल्लोपल्लो घरका उम्मेदवार छान्न छरछिमेकीलाई आपत नै पर्यो । एक सय घरधुरी भए पनि २० जनाले मतदाताले मत नै हालेनन् । निर्वाचन संयोजक बलराम फुयाँलले ८० मत खसेको एक मत बदर भएको र ५२ मत प्राप्त गरि नेपाली कांग्रेसका दामोदर अधिकारी विजयी भए र प्रतिद्धन्दी नेकपाका प्रेमनिधि तिमल्सिनाले २७ मत प्राप्त गरेको बताए ।
संस्थाको अन्य पदाधिकारी सर्वसम्मत ९ गते नै चयन भएका थिए । उपाध्यक्षमा मिना श्रेष्ठ,कोषाध्यक्ष पार्वती देवकोटा, सचिव होमनाथ दाहाल रहेका छन् । सदस्यहरुमा बासुदेव लामिछाने,नीरहरी न्यौपाने, रिता तिमल्सिना मन्दिप पुडासैनी र रश्मी थिङ रहेका छन् ।








