मुख्य खबरसमाचारफिचर

आज माघ १६ शहिद दिवस, हेटौंडा शहिद स्मारकमा दिवस मनाइदैं

संवाददाता

काठमाडौं \  देशमा प्रजातन्त्र स्थापनाका निम्ति जीवन बलिदान गर्नेहरुको सम्मानमा आज शहिद दिवस मनाइँदै छ ।
जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहूति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ ।

बागमती प्रदेश सरकारले पनि आज हेटौंडा ११ स्थित शहिद स्मारकमा प्रदेश प्रमुख बिष्णु प्रसाईको उपस्थितीमा विविध कार्यक्रम गरि शहिद दिवस मनाउन लागिएको छ । मुख्यमन्त्री डोरमणि पौडेल लगायत मन्त्री तथा प्रदेश सभा सदस्यहरुको उपस्थितीमा कार्यक्रम हुन लागेको स्मारक समितिले जनाएको छ ।

सरकारले शहीद दिवस विशेष कार्यक्रमसहित मनाउने घोषणा गरे पनि सार्वजनिक विदा भने दिएको छैन । शहीद दिवसको अवसरमा विगतमा दिने गरिएको सार्वजनिक बिदा केन्द्र सरकारले कटौती गरेको छ । वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै, सोही वर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो । नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ ।