
हेटौंडा \ मकवानपुरको मनहरी गाउँपालिका–६ जोगीतालका ४ महिने शिशु विगत दुई महिनादेखि अपहरणमा परेका छन् । जोगीतालका सोमबहादुर तामाङ र सीतामाया तामाङको ४ महिने छोरा कृष्ण मंसिर ३ गते साँझदेखि हराएका हुन् । घरमा आइरहने आफन्तले नै अपहरण गरेर भारतको राजस्थान पु¥याएको हुनसक्ने आशंका गरिएको छ । सोही आशंका बमोजिम प्रहरीले अनुसन्धान गर्दा शिशुलाई राजस्थान पु¥याइएको पाइएको छ ।
बुबाआमा घर नजिकै शौचालय बनाउने काम गरिरहेको अवस्थामा चितवन घर भै भारत बस्दै आएका एक आफन्त महिलाले शिशुलाई खेलाइरहेका थिए । साँझ ६ बजेतिर सुताएर राखेको कोक्रो र घरमा हेर्दा शिशुलाई कतै नदेखिएपछि बुवा आमा अत्तालिएका थिए । ‘छरछिमेकमा कसैले पो लगेका छन् कि भनेर खोज्यौं कतै भेटिएन ।
दिउँसो बच्चा खेलाइरहेका आफन्त बस्ने गरेको घरको कोठा खानतलासी गर्दा उनको सामानहरु नभेटेपछि उनैले लगेको हुनसक्ने भन्दै प्रहरीलाई खबर ग¥यौं, सबैतिर खोज्न पनि गयौं तर भेटिएन’, शिशुको बुवा सोमबहादुरले भने, ‘हामीले प्रहरीमा उजुरी पनि दिएका छौं । सोही महिलाले नै भारतको राजस्थान पु¥याएको भन्ने जानकारी पाएका छौं । बाबुको अवस्था कस्तो छ, केही नराम्रो पो गरिसकेकी कि रु बाबु हराएको दिनदेखि राम्रोसंग खाने सुत्ने गर्न सकिएको छैन ।’
बच्चा हराए परेदेखि शिशुको आमा चिन्ताले सुक्दै गएकी छिन् । ‘खोज्न जाँदा न बाबु भेटियो न त लैजाने मान्छे नै । प्रहरीलाई पनि खबर ग¥यौं’, शिशुको काका राजकुमार तामाङले भने, ‘अपहरण गर्ने महिलालाई फोन गर्दा कहिले नउठाउने, कहिले काट्ने भैरहेको थियो । रातिदेखि त फोन नै स्वीच अफ भयो ।’ आफ्नो अपहरणमा परेको छोराको उद्दार गरिदिन परिवारले प्रहरी तथा मनहरी गाउँपालिकासहित बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थासंग गुहार माग्दै आएको छ । उक्त महिलाको आफ्नो सन्तान नभएकै कारण अपहरण गरेर लगेको हुनसक्ने परिवारले आशंका गरेका छन् । ज्यालामजदुरी गरी जीविकोपार्जन गर्दै आएका तामाङ परिवारको आर्थिक अवस्था पनि निकै कमजोर रहेको छ ।
गाउँपालिकाद्वारा उद्दार समिति गठन, राजस्थान जाँदै
४ महिने शिशुलाई राजस्थान पु¥याइएको जानकारी पाएपश्चात मनहरी गाउँपालिकाले ५ सदस्यीय उद्दार समिति निर्माण गरेको छ । गाउँपालिकामा बसेको बैठकले अपहरणमा परेका शिशुको उद्दार गर्न सम्पूर्ण जिम्मेवारी गाउँपालिकाले लिने गरी समिति बनाएको हो ।
‘मंसिर ३ गतेको घटना रहेछ । हामीलाई पुष १७ गते जानकारी भयो । खोजीकार्य पनि भएकै हो’, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले भने, ‘नाता पर्ने मान्छेले लिएर गएको भन्ने जानकारी आएको छ । सुनौली नाका हुँदै राजस्थान गएको भन्ने बुझिएको छ । हाम्रो गाउँपालिकाको नागरिक अपहरणमा परेका छन्, उद्दार गर्नु हाम्रो दायित्व हो । लागेको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने गरी हाम्रो टोली राजस्थान जानेछ ।’
भारतको प्रहरी तथा दिल्लीमा रहेको माइती नेपालसंग समेत आवश्यक समन्वय गरी टोली बालकको उद्दारमा जाने उनले बताए । अपहरणमा परेका शिशुको सम्पूर्ण कागजात लिएर प्रहरीसहितको ५ जनाको टोली राजस्थान जानेछ । प्रदेश दैनिकबाट








