
खबरबाकस \ मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाले आफ्ना वयोवृद्ध गाउँबासीलाई बचाउन आमा–बुबा बचाउ स्वास्थ्य कार्यक्रम ल्याएको छ ।
राक्सिराङ गाउँपालिकाले पहिलो पटक चिकित्स (डाक्टर) नियुक्त गर्दै गाउँपालिकामा लोकप्रिय स्वास्थ्य कार्यक्रम आमा–बुवा बचाउ अभियानलाई ८ नम्बर वडाको देविटारबाट सुरुवात गरेको हो । गत आर्थिक वर्ष २०७६÷०७७ मै लागू गर्नुपर्ने कार्यक्रमलाई राक्सिराङले एकवर्ष ढिलो गरी सञ्चालन गरेको हो ।
राक्सिराङले गाउँपालिकाभर स्थायी बसोबास रहेका ७० वर्ष उमेर कटेका दीर्घरोगीलाई निःशुल्क उपचार गर्ने भएको हो । यस कार्यक्रमले अति विपन्न असहाय, असक्त ७० वर्षभन्दा कम उमेर भएकालाई पनि समेट्ने राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो । राक्सिराङ लोपन्मुख चेपाङ र तामाङ जातीको बाहुल्य भएको स्थानीय तह हो । यहाँका अधिकांश आर्थिक रुपले विपन्न रहेका छन् ।
आर्थिक अवस्था कमजोर भएकै कारण रोगले थलिएर ज्यान गुमाउनु पर्ने अवस्थालाई निरुत्साहित गर्न गाउँपालिकाले आमा–बुवा बचाउ अभियान ल्याएको अध्यक्ष मल्लले बताउनुभयो । राक्सिराङमा अति विपन्न नागरिकको बढी बसोबास छ । कतिपयले आवश्यक उपचार नपाएरै ज्यान गुमाउनु परेको घटना छ । यसलाई संधैका लागि अन्त्य गर्न यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याइएको अध्यक्ष मल्लले बताउनुभयो ।
राक्सिराङले अघिल्लो वर्ष नै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग आमा–बुवा बचाउ अभियानका लागि सम्झौता गरेको थियो । पाटनका डाक्टरहरुसँग प्रत्यक्ष सम्पर्क गरी बिरामीको उपचार गरिने उद्देश्य अनुरुप सम्झौता गरिएको अध्यक्ष मल्लले बताउनुभयो । गाउँपालिकाले एमविविएस डाक्टर नियुक्त गरि यस अभियान सफल पार्न गाउँपालिका लागिपरेको मल्ल बताउछन् ।
पाटन अस्पतालका प्राध्यापक डाक्टरद्वय केदार बराल र प्रदीप वैद्यले प्रजाको स्वास्थ्य स्थितिको बारेमा भर्चुअलआर्फत परामर्श लिएका थिए । बिरामीको स्वास्थ्यको विषयमा जानकारी लिएपछि डाक्टरद्वयले आवश्यक औषधि निशुल्क उपलब्ध गराउने स्वास्थ्य शाखा प्रमुख विजय कुमारी कपारीले बताउनुभयो । जोखिम खालको बिरामीलाई उपचारका निम्ति पाटन अस्पताल लैजानु पर्ने भएमा निःशुल्क एम्बुलेन्सको पनि व्यवस्था रहेको छ । वडा कार्यालय, स्वास्थ्य चौकीले कार्यक्रममा समेटिने प्रकारका बिरामी बारे जानकारी गराएपछि गाउँपालिकाको स्वास्थ्यकर्मी टोली खटिने स्वास्थ्य शाखा प्रमुख विजय कुमार कपारीले बताउनुभयो । गाउँपालिकामा ७० वर्ष माथी १४५८ जना वयोवृद्ध रहेका छन् ।
गाउँपालिका अध्यक्ष मल्ल, उपाध्यक्ष निर्मला हिम्डुङ, ८ नम्बरका वडाध्यक्ष रामकृष्ण चेपाङ, डाक्टर धनबहादुर खत्रीसहितको स्वास्थ्यकर्मीको टोलीले देविटारकी ३४ वर्षीया अशक्त मधुमाया प्रजाको उपचार गरि अभियानको सुरुवात गरिएको छ । १२ वर्षको उमेरदेखि बाथ रोगले ओछ्यानमै थलिएकी प्रजालाई उनको घरमै पुगेर उपचार गरिएको हो ।








