
काठमाडौँ / केपी ओली सरकारको मन्त्रीपरिषद्को शुक्रबार राति अबेर बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक मन्त्रीले दिएको जानकारीअनुसार मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । 'अरु मन्त्रालयगत केही एजेन्डा थिए । अनि संघीय संसदको अपर हाउस राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय भयो,' उनले भने ।
प्राप्त जानकारी अनुसार राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ ।मन्त्रिपरिषद्को बैठक शुक्रबार राति साढे ९ बजेपछि बसेको थियो । मन्त्रिपरिषद्को बैठकमा नयाँ मन्त्रीहरूलाई स्वागत गरिएको बताइएको छ ।








