मुख्य खबरसमाचारफिचर

तरुण विद्यार्थीको हेटौंडामा सिठ्ठी जुलुस

संवाददाता

हेटौँडा \  नेपाली कांग्रेस मकवानपुरले भोलि हेटौँडामा गर्न लागेको सरकार विरोधी प्रदर्शनको पुर्व सन्ध्यामा हेटौँडामा आइतबार साँझ सिठ्ठी जुलुस निकालेको छ। नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ मकवानपुरको आयोजनामा सरकार विरुद्ध सिठ्ठी जुलुस निकालेको हो।

नेपाल तरुण दल मकवानपुर सभापति इश्वर पाठक र नेपाल विद्यार्थी संघ मकवानपुर सभापति राजु खतिवडाको नेतृत्वमा संयुक्त रुपमा कांग्रेस पार्टी कार्यालयबाट सिठ्ठी जुलुस निकालिएको हो। जुलुस उद्योग वाणिज्य संघ चोक, कान्तिलोकपथ, परिजातपथ, स्कुलरोड,सिमाचोकमा आएर कोणसभामा परिणत भएको थियो। जुलुसमा तरुण विद्यार्थीको उल्लेखनीय रुपमा सहभागीता रहेको थियो।

नेविसंघ र तरुण केन्द्रीयसमितिको निर्देशन अनुसार जुलुस निकालिएको नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाले बताएका छन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा पक्राउ गरेको विषयमा नेपाली कांग्रेसले भोलि देशव्यापी रुपमा विरोध प्रदर्शन गर्दैछ। कांग्रेस मकवानपुरले भने भोलि ११:३० बजे हेटौँडामा सरकार विरुद्ध प्रदर्शन गर्दैछ। प्रदर्शनलाई कांग्रेस सभापति शेरबहादुर देउवा सहितका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।