
काठमाडौं \ नेपालको मानव विकास सूचकांकमा सामान्य प्रगति भएको पाइएको छ । राष्ट्रिय योजना योजनाले सार्वजनिक गरेको नेपाल मानव विकास प्रतिवेदन–२०२० अनुसार नेपालको मानव विकास सूचकांक मूल्य ०.५८७ अंक पुगेको छ । सन् २०१९ को प्रतिवेदनमा सूचकांक मूल्य ०.५७९ थियो ।
योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीका अनुसार नेपाल अहिले विश्वमा मध्यम मानव विकासको स्तरमा छ र २०२२ मा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन दुई मापदण्ड पूरा हुने भएको छ ।
स्तरोन्ततिका लागि प्रतिव्यक्ति आय, मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचकमा तोकिएको मापदण्ड पार गरेको हुनुपर्छ । डा. ओलीका अनुसार २०२१ भित्र मानव सम्पत्ति सूचक र आर्थिक जोखिम सूचक मात्र पूरा हुने भएको छ ।
अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन मानव सम्पत्ति सूचकांक ६६ अंकभन्दा माथि हुनुपर्छ । नेपालको अंक २०२० मा ७२.१ रहने अनुमान छ । यस्तै आर्थिक जोखिम सूचकांक ३२ अंकभन्दा कम हुनुपर्छ । सन् २०२० मा यस्तो सूचक २५.४ अंकमा रहने अनुमान गरिएको छ ।
तर प्रतिव्यक्ति आयतर्फ भने लक्ष्य पूरा हुने सम्भावना कम छ । स्तरोन्नतिका लागि प्रतिव्यक्ति आय १२३० अमेरिकी डलरभन्दा माथि हुनुपर्छ । तर आर्थिक वर्ष २०७७/७८ मा प्रतिव्यक्ति आय ११६३ मात्र पुगेको छ । आब ०७५/७६ मा १०३९ र आब ०७६/७७ मा १०६७ थियो ।








