मुख्य खबरसमाचारफिचर

कोभिड असर न्युनिकरण गर्न बकैयामा कार्यशाला

संवाददाता

कोभिड–१९ का कारण महिला तथा बालबालिकामा परेको मनोसामाजिक असर न्युनिकरण गर्न बकैया गाउँपालिकाले कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

कोरोना महामारीका कारण महिला तथा बालबालिकामा तनाव, एक्लोपन महशुस, डर, त्रास चिन्ता, डिप्रेशन र रक्सी तथा लागूऔषधको प्रयोग बढेकोले मनोसामाजिक असर परेको परेको बताइएको छ । गाउँपालिकाले लैङगिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत् शुक्रबार मनोसामाजिक असर तथा न्युनिकरणका उपायका विषयमा महिला तथा बालबालिकालाई सहजीकरण गरिएको थियो ।

महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सिबिन बाल हेल्पलाइन लगायतका संस्थाहरुको समन्वय र सहकार्यमा गाउँपालिकाले कार्यशाला गोष्ठी आयोजना गरेको हो । कार्यक्रममा गाउँपालिकाका करिब १ सय भन्दा बढी महिला तथा बालबालिकाहरुको सहभागिता थियो । कार्यशालामा प्रतिमा शर्माले कोभिडका कारण परेको मनोसामाजिक असर र प्रभावका बारेमा सहजीकरण गरेकी थिइन् ।

शर्माले कोरोना महामारीमा महिला तथा बालबालिका भन्दा पुरुषहरुले बढी आत्महत्या गरेको बताइन् । कोभिडले पारेको मनोसामाजिक असर न्युनिकरणका लागि योग अभ्यास, ब्यायाम वा थेरापी र नित्यकर्म गर्न जरुरी रहेको औल्याएकी छन् । गाउँपालिकाका अध्यक्ष दामोदर खनालको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष सरला बोलखेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँकार्यपालिका सदस्य लक्ष्मी माया माझि, निर्मला राई, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीलगायतकाको आतिथ्यता थियो ।